तपाईँ सुन्दै हुनुहुन्छः

फिजियोथेरापी दिवसमा निःशुल्क शिविर

चिप्लेढुङ्गा-विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको हो । शिविर एक सय ४८ लाई सेवा उपलब्ध गराइएको एशोसिएशनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिनुभयो ।

शिविर उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै सरोकारवालासँग समन्वय गरी प्रदेशस्तरीय स्वास्थ्य ऐन बनाइने बताउनुभयो । उहाँले म्याग्दी, पर्वत र स्याङ्जामा डायलासिस सेवा केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले हाडजोर्नी र नशाका बिरामीका लागि औषधिभन्दा व्यायाम आवश्यक छ भन्नुभयो ।

वरिष्ठ चिकित्सक डा वसन्त ताम्राकारले पछिल्लो समय निजी अस्पतालले पनि प्राथमिकताका साथ फिजियोथेरापी सेवा शुरु गरिरहेकोे बताउनुभयो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले धेरै व्यक्तिमा हाडजोर्नी र नशाको समस्या बढिरहेको भन्दै सरकारले फिजियोथेरापी सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्व विद्यालय बिपिटी कार्यक्रम संयोजक विजय सुवेदीले स्वास्थ्य क्षेत्रका अनुसन्धनात्मक गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो । कार्यक्रममा एशोसिएशनका अध्यक्ष खड्कसिंह गुरुङ, सचिव डा शिव तिवारी, फिजियोथेरापी स्वीकृति पौडेल, पोविवि बिपिटी कार्यक्रमका उपप्राध्यापक दीपक जोशीलगायतले फिजियोथेरापीका विविध पक्षको बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button