तपाईँ सुन्दै हुनुहुन्छः

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)पहिलो संशोधन २०७६ विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ -प्रतिनिधिसभाले “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) पहिलो संशोधन २०७६ ” विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सो विधेयक सदनले सर्वसम्मतिबाट पारित गरेको हो ।

अर्थमन्त्री खतिवडाले विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै राजश्व अनुसन्धानलाई प्रभावकारी बनाउन “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) पहिलो संशोधन २०७५ ” विधेयक आएको स्पष्ट पार्नुभयो ।

उहाँले यसले प्रदेश र स्थानीय तहको राजश्ज चुहावट नियन्त्रण सम्बन्धी कामलाई विधेयकले हस्तक्षेप नगर्ने स्पष्ट पार्दै विधेयक प्रभावकारी कार्यान्वयनमा आउने जानकारी गराउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले अदालतको आदेश अनुसार एनलेशको कर सरकारले उठाउने स्पष्ट पार्दै राजश्वका कर्मचारीले परिवारको नाम राखेर सुराकी गर्नेको लाभ लिन नसक्ने बताउनुभयो ।

यसअघि, बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद भरतकुमार शाहले अर्थमन्त्रालय अन्तर्गतको राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइनु वित्तीय सङ्घीयताको भावना विपरित भएको बताउनुभयो ।

सांसद देवप्रसाद तिमल्सिना, उमाशंकर अरगरिया, प्रेम सुवाल लगायतले राजश्व चुहावटको गहन अध्ययन गर्न र समयमा राजश्व तिर्नेलाई पुरस्कार र नतिर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

बैठकको सुरुमा समय माग गर्दै सांसद जुलीकुमारी महतोले वीरगञ्ज ३ छपकैयाकी १५ बर्षीय बालिका मुस्कान खातुनमाथि भएको एसिड प्रहारमा संलग्नलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै पीडितको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको विशेष समयमा सांसद ह्दयेश त्रिपाठीले कर वृद्धिका कारण नागरिकमा निराशा बढेको र ठूला करदाता कार्यालयले एनसेलका हकमा निर्धारण गरेको कर तिर्नु नपर्ने भन्दै सर्वोच्च अदालतले केही दिन अघि गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव धर्म संस्कृति विरोधी विषय भएको जिकिर गर्नुभयो ।

सांसद प्रेम सुवालले संघीय संसदले खरीद गरेको सवारी साधनमा चरम भ्रष्टाचार भएको भन्ने जनताले गुनासो रहेकाले तत्काल छानबनि समितिको प्रतिवेदन संसदमा पेश गर्न आग्रह गर्नुभयो ।

यसअघि शुन्य समयमा सांसदहरु कृष्ण गोपमाल श्रेष्ठ, डिला संग्रौल पन्त, पुष्पा भुसाल, नरमाया ढकाल लगायतले डेङ्गु रोगको ‘प्रकोप’ देशैभर फैलदासमेत रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्काे बैठक यही भदौ २४ गते मंगलबार दिनको १ बजे बस्नेछ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button