तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ ।

४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौँ ।”

उहाँले विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकाङ्क्षा साकार पार्न उपयोगी हुने विश्वास व्यक्त गर्दै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा रुपान्तरण सरकारको उच्च प्राथमिकतामा रहेको र दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने जानकारी दिनुभयो । समारोहमा विभिन्न विद्या पदक वितरण भइरहेको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button