तपाईँ सुन्दै हुनुहुन्छः

‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’

काठमाडौँ ।  यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताउनुभयो ।

“परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उहाँले भन्नुभयो । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्नेछ भन्नुभयो । काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पोशाक र परिचयपत्रको शुरुआतसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने बताउनुभयो ।

मजदूर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button