२०७९ साल जेठ ८ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ उद्योगी, व्यापारीलाई लगानी गर्न आह्वान

रेडियो नेपाल २०७६ भदौ २१ गते १९:२९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनुभएको छ ।

काठमाडौँस्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताउनुभयो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको गरीबी अन्त्यका लागि चीन सरकारले लगानीको प्रमुख गन्तव्य नेपाललाई रोज्नुपर्ने बताउनुभयो ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश ५ ले औद्योगिक शहरको विकास गर्न एक हजार तीन सय रोपनी जग्गा छुट्टाएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा उत्पादनका लागि गण्डकी क्षेत्र उर्बर रहेकाले चिनियाँ उद्योगपतिलाई लगानी गर्न आग्रह गर्नुभयो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले चिया, रुद्राक्ष र अलँैची उत्पादनमा लगानी गर्न आग्रह गर्दै किमाथान्का, ओलाङचुङ्गोला र सोलुखुम्बुको नाङपाला नाका सञ्चालनमा ल्याउनुपर्ने बताउनु भयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जडीबुटी, औषधि, रत्नपथ्थर, जैविक मल कारखाना, मारवल कारखाना, सिमेन्ट उद्योग र कृषि क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल–चीन व्यापारसम्बन्धी फोरमका कार्यकारी अध्यक्ष फान जियाबाओले नेपालका लिच्छविकालीन राजा अंशुवर्माकी छोरी भृकुटी र तत्कालीन तिब्बतका राजा श्रङचङ गम्पोसँगको सांस्कृतिक सम्बन्धपछि नेपालसँग चीनको पारस्पारिक सम्बन्ध विस्तार हँुदै गएको चर्चा गर्नुभयो ।

सम्बन्धित