तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल श्रीलंकासँग ५ विकेटले पराजित

अजय बम । एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु टोली श्रीलंकासँग नेपालले पाँच विकेटको हार ब्यहोर्यो ।

नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै अहान विक्रमासिंघेले पनि ३० रन जोडे । निपुन धनञ्जयाले १८ रन बनाए भने अभिष्का थारिन्दुले अविजित २५ रन जोडे ।

बलिङतर्फ राशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए । श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतकीय योगदान दिएका थिए । उनले ५४ रन बनाएका थिए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए । अन्यको प्रदर्शन खराब रह्यो ।

नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिए । अब नेपालले आइतबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button