तपाईँ सुन्दै हुनुहुन्छः

एउटै गाउँबाट १५ करोडको आलु निर्यात

सल्यान  – जिल्लाको वाफुखोलाबाट मात्रै यो सिजनमा १५ करोड बढिको आलु निकासी भएको छ । बागचौर नगरपालिका वडा न ११ र १२ न वडाबाट मात्रै यस सिजनमा १५ करोडको आलु निकासी भएको हो । साबिकको बाफुखोला गाविसका स्थानीयले यो वर्ष दुई हजार रोपनीमा आलु खेती गरेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ । आलुको पकेट क्षेत्रको रुपमा चिनिएको बाफुखोलाबाट वार्षिक सोही अनुमानमा आलु निकासी हुदैँ आइरहेको कार्यालयले जनाएको छ ।

आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु व्यवसायिक आलुखेतीमा आकर्षित हुदै आईरहेका छन् । परम्परागत अन्नबाली छोडेर व्यवसायिक आलुखेती गर्दै आईरहेका बाफुखोलाबासीले झन्डै ८० प्रतिशत जमिनमा आलु खेती गर्ने गर्दछन् ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जाने किसान अहिले आलुखेतीमा रमाईरहेको स्थानीय कोमला ओलीले बताउनुभयो । आलु खेतीको किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘२ दशक अघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जानुपथ्र्यो अहिले आलुले गाउँमा रोजगारी दिएको छ । यस सिजनमा आलुबाट सात लाख आम्दानी गर्न सफल भएको छु ।’

सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरिद गर्ने गरेको किसान दुर्गा बहादुर वलीले बताउनुभयो । यो वर्ष गाउँबाटै प्रतिकिलो २५ रुपैयाका दरले व्यापारीले आलु खरिद गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अन्य खेतीपातीको जस्तो खासै दुःख पनि छैन, उत्पादन र मुल्य पनि वर्षेनी बढि रहेको छ । बारीबाटै व्यापारीले जिल्ला बाहिर लैजाने गरेका छन् ।’

आलु उत्पादनबाट गाउँमा वर्षेनी १० देखि १५ करोड रुपैया भित्रिने गरेपनि भण्डारणको व्यवस्था नहँुदा समस्या भएको १२ न वडा अध्यक्ष दिपक वलीले बताउनुभयो । गाउँका सबैजसोले आलु उत्पादन गर्दै आईरहेका छन् । अज्ञर््यानिक आलु भएकाले देशका ठुला शहरमासमेत यहाँको आलुको माग छ । उहाँले भन्नुभयो तर गाउँमा कोल्ड स्टोर नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता छ ।
सल्यानको आलु दाङ, नेपालगञ्ज, धनगढी, चितवन, पोखरासम्म जाने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button