२०७८ साल कार्तिक ६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रशिक्षण भक्तपुरमा शुरु

पुष्करराज बुढाथोकी २०७६ भदौ २० गते १५:५७

भक्तपुर – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि प्रदेश–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रम भक्तपुरमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको बताउनुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो ।

देश र जनताको सेवामा लाग्नु पर्ने सेना,प्रहरी,कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको उहाँको आरोप थियो ।

सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतिपुर्ण अबस्था आएको भन्दै त्यस बिरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिनुभयो ।

सभापति देउवाले अब कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै अन्तरघातीलाई पार्टीले कारवाही गर्ने बताउनुभयो । पार्टी एक हुनु जरुरी रहेको बताउँदै उहाँले पार्टीमा एकले अर्कालाई हराउने रोगको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उहाँले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई ब्यक्तिवादी,चाटुकारी र भक्तिवादी प्रबत्तिबाट माथि उठाएर कांग्रेसलाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले आफ्नै पिंडा र दोषारोपणबाट मुक्त भएर पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो ।

महामन्त्री डा शशांक कोईरालाले सरकार जनताका स्वतन्त्र सँस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाउँदै मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पाटीका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्ताले बिगतका कमजोरी सच्च्याएर पार्टीमा सन्तुलन कायम गरेर राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदममा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षणमा प्रदेश ३ का १३ जिल्लामध्ये सात जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका २ सय ८१ महाधिवेशन प्रतिनिधि सहभागी छन्।

सम्बन्धित