तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीका कारण भाइरल ज्वरोको प्रकोप, अस्पतालमा बिरामीको चाप बढ्दो

 

सिरहा/ अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ ।

जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप अत्यधिक बढेसँगै श्यया र औषधिको अभाव भएको छ । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक १०० देखि १५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

उपचारका लागि आउने बिरामीहरुमध्ये करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोबाटै थलिएका बिरामीहरु रहेको मेसु डा यादवको भनाइ छ । दैनिक ठूलो सङ्ख्यामा बिरामीको चाप बढेपछि अस्पतालमा श्ययाको अभावमा भुइँमा राखेरै उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्तै सिरहाको गोलबजारस्थित स्वास्थ्य चौकी भाइरल ज्वरोको बिरामीले भरिभराउन भएको स्वास्थ्यकर्मीले बताएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज सत्यनारायण यादवका अनुसार भदौको पहिलो सातादेखि दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये करीब ७० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको इन्चार्ज यादवको कथन छ । दैनिक बिरामीको चाप अत्यधिक बढ्ने गरेकाले भुइँमै राखेर उपचार गर्ने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै लहानस्थित रामप्रसाद उमाप्रसाद शारदा स्मारक अस्पतालमा पनि भाइरल ज्वरोकै बिरामीको चाप बढ्ेको छ । कूल ५० श्ययाको सो अस्पतालमा दैनिक १०० जति बिरामी आउने गरेकामा करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको अस्पतालका मेसु डा सुनिल कुशवाहले जानकारी दिनुभयो ।

बिरामीको चाप अत्यधिक बढेकाले श्ययाको अभावमा भुइँमै राखेर बिरामीको उपचार गरिरहेको मेसु डा कुशवाहको भनाइ छ । भाइरल ज्वरोको प्रकोप जिल्लामा फैलिए पनि डेङ्गु रोगको प्रकोप जिल्लामा नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुखसमेत रहनुभएका सिरहा अस्पतालका मेसु डा यादवको कथन छ ।

जिल्लामा अहिलेसम्म डेङ्गु प्रभावित एउटा पनि बिरामी फेला नपरेकाले आत्तिनु नहुने भन्दै उहाँले भाइरल ज्वरो र रुघाखोकी फैलिने मौसम अझै रहेकाले सचेत रहनसमेत सबैसँग आग्रह गर्नुभयो ।
साथै अस्पतालहरुमा पखला, रुघाखोकीको बिरामीसमेत बढेको स्थानीय स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । मौसमी रुघाखोकी घाम तात्तिँदै गएपछि जमीनमुनि बस्ने सर्प जमीनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको छ ।

विगत केही दिनयतादेखि बढेको अत्यधिक गर्मीका कारण सिरहा जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टण्टलापुर घाम चर्किंदै जाँदा दिउँसोपख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण बनेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टण्टलापुर घाम लाग्ने र हावा नचल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button