तपाईँ सुन्दै हुनुहुन्छः

तस्करीमा संलग्न छ मोटरसाइकल नियन्त्रणमा

सिरहा/ सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करीब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ ।

प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प ५४०१, स१प ६५०७ र स५प ४५२९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका चार वटै मोटरसाइकलमा करीब चार क्विन्टल मरिच लोड गरिएको थियो । यस्तै सादा पोशाकमा खटिएका प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका १८ अराहाबाट भन्सार छलि नेपालतर्फ तस्करी भइरहेको सुर्तिजन्य पदार्थसहित स२प ६४९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरीले भगवानपुर गाउँपालिका–५ इनरुवाबाट अवैध सोफिया मदिरासहित मदिरा लोड गरिएको बिआर३२डी २१५५ नंको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मदिरासहित सो मोटरसाइकल नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बरामद भएका मोटरसाइकल र सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button