तपाईँ सुन्दै हुनुहुन्छः

दशैंलक्षित ‘नागरिक सहायता कक्ष’ संचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं तिहारलाई लक्षित गर्दै उपत्यकामा यो वर्ष पनि ‘नागरिक सहायता कक्ष’ सञ्चालन गर्ने भएको छ ।

१४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्न प्रस्ताव गरिए पनि अन्तिम निर्णय भइनसकेको महाशाखाका नायब प्रहरी उपरीक्षक (डीएसपी)पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो ।

सरकारले दशैंमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरकै दिनमा कक्षहरुले काम थाल्ने महाशाखाले जनाएको छ ।

यो समयमा उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खु लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्‍याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा यातायात सञ्चालकमाथि कारवाही गरिने विष्टले बताउनुभयो ।

सहायता कक्षका खटिएकाहरुले तोकिएको भाडादर भन्दा बढी लिएरनलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरुमाथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्नेछ ।

दशैंको समयमा सवारीसाधनले जथाभावी गर्दा दुर्घटनामा पनि बढ्ने गरेका छन् । छतमा यात्रु र समान राख्ने गर्दा दुर्घटनाको जोखिम पनि उच्च हुने गरेको छ । त्यसलाई घटाउन पनि सहायता कक्षले प्रभावकारी भूमिका खेल्न सक्ने ट्राफिक प्रहरीको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button