तपाईँ सुन्दै हुनुहुन्छः

निजामती कर्मचारीको जिम्मेवारी र दायित्व थप गर्ने सहमति

काठमाडौँ – संसदीय समितिमा छलफलमा रहेको निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीको जिम्मेवारी र दायित्व थप गर्ने विषयमा सांसदहरु समत भएका छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा निजामती कर्मचारीले सरकारी वा पदीय जिम्मेवारी तथा स्रोत साधनलाई निजी वा निहित स्वार्थका लागि उपयोग नगर्ने, कार्यालय समयमा व्यक्तिगत काममा समय व्यतित नगर्ने जस्ता जिम्मेवारी र दायित्व थप गर्ने विषयमा सांसदहरु सहमत हुनुभएको हो ।

थपिएका जिम्मेवारी र दायित्वहरुमा राष्ट्र र जनताको बृहत्तर हितलाई ध्यानमा राख्दै संविधान र कानुनको पूर्ण परिपालना गरी कार्य सम्पादन गर्ने, उपलब्ध स्रोत र साधनको मितव्ययिता पूर्वक परिचालन गर्ने, सेवाग्राही र आम जनताप्रति जवाफदेही रही निश्पक्ष र पारदर्शी तवरले छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने विषयहरु रहेका छन् ।

सेवाग्राहीप्रति शिष्ट र समान किसिमको व्यवहार गर्ने तथा आधारभुत मानवीय मुल्य र मान्यताप्रति सम्मान गर्ने, संगठनले राखेको उद्देश्य र लक्ष्य हासिल गर्न तथा सुशासन कायम गरी कार्यालयको समग्र कार्यसम्पादनलाई उच्च पार्न निरन्तर प्रयत्नरत रहने विषय थप गरिएको छ ।

यस्तै कार्य सम्पादन मुल्याङ्कन गर्दा काबु बाहिरको परिस्थतिमा बाहेक कार्यसम्पादन सम्झौता बमोजिम कार्य प्रगति अवस्था सन्तोजनक नरहेको भएतापनि कार्यसम्पादन मुल्याङ्कनमा अति उत्तम स्तरको अंक प्रदान गर्ने सुपरिवेक्षक वा पुनरावलोकन कर्तालाई विभागीय कारवाही हुने विषयमा पनि सांसदहरुबीच सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button