तपाईँ सुन्दै हुनुहुन्छः

क्षेत्रीय सदरमुकामको चहलपहल घट्यो

काठमाडौँ/गाउँमा स्थानीय सरकार गठन भएसँगै सामान्यदेखि अन्य आर्थिक कारोवार गाउँपालिकाबाट नै हुन थालेपछि जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा चहलपहल एकाएक घटेको छ । पछिल्लो केही वर्षयतादेखि डोटीको दिपायल, सिलगढीको बजार सङ्घीयताको मारमा परेको स्थानीयबासिन्दाको भनाइ छ ।

यतिमात्र नभई सङ्घीयता लागू भएर प्रदेश सरकार गठन भई राजधानीसमेत कैलाली सारिएपछि त झन दिपायल तथा सिलगढीमा जनसङ्ख्यासमेत ह्वातै घटेको छ । राजधानी कैलाली सरेसँगै यहाँका अधिकांश स्थानीयवासीले दिपायल तथा सिलगढीमा गरिरहेको व्यापार व्यवसाय पनि छोडेर कैलाली तथा गाउँघरतिर सरेका छन् ।

कतिपय स्थानीयले सञ्चालन गर्दै आएको होटल तथा व्यापारको घरभाडासमेत तिर्न पैसा कमाउन नसक्दा व्यापार नै छोडेर जान थालेको नेकपाका नेता तथा स्थानीय होटल व्यवसायी तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला घरको होटल भाडा नै महङ्गो छ, तिर्नलाई कमाउन सकिन्न नछोडी के गर्नु त ।”

सिंहदरबारको अधिकार गाउँमा भन्ने भएपछि सबै काम गाउँमा नै हुन थाल्यो बजारमा मान्छे आउन छोडे पहिले दैनिक रु १०÷१५ हजार आम्दानी हुने होटलमा रु ५०० को कमाइसमेत मुस्किलले हुन थालेपछि स्थानीय गाउँमै फिर्ता हुन थालेको दिपायल पिपल्लामा लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका होटल सिम्रनका सञ्चालक राजेन्द्रविक्रम शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिपायलमा व्यापार व्यवसाय घट्यो, मान्छे छैनन्, घरबाट पैसा हालेर कसले व्यापार गर्न सक्छ र ।” राज्यमा सङ्घीयता गएपछि गाउँपालिका, नगरपालिका र वडा कार्यालयमा सबै अधिकारप्राप्त हुनका साथै निजी र सरकारी बैंकसमेत गाउँघरमै गएपछि सदरमुकाम सिलगढीमा नेपाली नागरिकता लिनेबाहेक गाउँबाट मान्छे निकै कम आउने गरेपछि अहिले व्यापार व्यवसायमा निकै घाटा लागेको सन्ध्या ग्रामीण डेरी उद्योगका सञ्चालक प्रतापसिंह विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सदरमुकाममा नागरिकताबाहेक अन्य कामका लागि आउनुपर्ने अवस्था छैन, मान्छे नआए व्यापार त्यसै मन्द हुने नै भयो नी ।” तत्कालीन समयमा डोटीमा एक नगरपालिका, साबिसका ५० गाविस रहेका थिए ।

सङ्घीयता शुरु भएपछि अहिले नौ गाउँपालिका र दुई नगरपालिका रहेका छन् । देशमा सङ्घीयता आएसँगै शक्ति र अधिकार विनियोजन हुँदा अहिले हरेक गाउँपालिका र नगरपालिकाबाट नेपाली नागरिकताको प्रमाणपत्रबाहेक दैनिक बंैकिङ कारोवार शिक्षा, स्वास्थ्य, कृषि, पशु सिफारिस, शिक्षक तथा कर्मचारीको तलबभत्ता, नून र खाद्यान, दैनिक उपभोग्य सामानलगायतका अधिकार गाउँमै प्राप्त हुन थालेपछि सदरमुकाम सिलगढी र क्षेत्रीय सदरमुकाम दिपायलको पुरानो रौनक निकै घटेको अर्का स्थानीय वीरबहादुर विष्टले बताउनुभयो । सदरमुकामका स्थानीयवासीबाहेक गाउँमा सदरमुकाम बसाइँ सरेर आएकासमेत अहिले धमाधम गाउँ फिर्ता हुन थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button