तपाईँ सुन्दै हुनुहुन्छः

१६ किलो सुन प्रकरण : ३५ करोड जरिवाना सहित ६ बर्ष कैद मागदाबीगर्दै मुद्दा दायर

गोरखा ।  राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो ।

विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिनुभयो । विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उहाँले बताउनुभयो ।

अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो ।

प्रतिवादी गुरुङले बयान क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन् । गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ । बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button