तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजना पीडित आन्दोलनमा

देवराज सुवेदी, मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर तथा सप्लायर्सहरुले अनिश्चितकालका लागि मेलम्ची खानेपानी आयोजना बन्द गराएका छन् ।

मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले आज आयोजनाको साइट कार्यालय मेलम्चीमा शान्तिपुर्ण ¥याली सहित कोण सभा गर्दै आयोजनाबाट पाउनु पर्ने रकम भुक्तानी नभए सम्म कुनै पनि निर्माण कम्पनीलाई आयोजनामा काम गर्न नदिने आयोजना पीडित सङ्घर्ष समिति जनाएको छ । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै पीडितहरुले धर्ना दिएका हुन् । सरकारले केही समय अघिमात्र चाइनाको सिनो हाइड्रोलाई बाकीँ कामको लागि छनौट गरेको थियो ।

आयोजना पीडितहरुको समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालय तथा खानेपानी मुहान क्षेत्र अम्बाथानमा आजदेखि पीडितहरूले धर्ना सुरु गरेका हुन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटम सहित रकम भुक्तानीको लागि ज्ञापनपत्र बुझाएका थिए ।

पीडितहरुको समस्या समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताउनुभयो । मजदुर तथा स्थानिय सप्लायर्सहरुको माग पुरा नभए सम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button