तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीको चरम अभाव: पानी थाप्न गोला प्रथा

पर्वत –  पर्वतका विकट गाउँहरुमा खानेपानीको चरम अभाव छ । यहाँको एक विकट गाउँमा खानेपानीका लागि गोला तान्नुपर्ने अवस्था छ । बिहादी गाउँपालिका ६ हनुमान डाँडाका बासिन्दाले खानेपानीका लागि हरेक शनिवार गोला परे पानी थाप्न सहजै पाउँछन् नत्र पाउँदैनन् । हरेक महिनाको अन्तिम शनिवार गोलाप्रथा गरिन्छ ।

गोला पर्नेले महिनाभर पानी थाप्न पाउने नत्र संचित पानी महिनाभर पिउनुपर्ने बाध्यता रहेको स्थानीय माधव भट्टराईले बताउनुभयो । एक पटक गोला हालेर चिठ्ठा थुतेपछि एक महिनासम्म सोही चिठ्ठाका आधारमा पानी भर्न पाइन्छ । चिठ्ठा थुत्ने कार्यक्रम बिगत दुई वर्षदेखि चलिरहेको भट्टराईले जानकारी दिनुभयो । पानी थाप्ने एउटामात्रै धारो छ ।

बिगत ४० वर्षदेखि प्रर्याप्त पानी भर्ने आयोजना गाउँमा सञ्चालन नभएको कारण स्थानीयले पानीका लागि सास्ती भोग्दै आएको गृहणी गुमादेवी भट्टराईले बताउनुभयो । गोलापछि आफनो पालामा ढुक्कले पानी थाप्न पाइएको उहाँको भनाई छ ।

हनुमानडाँडाका बासिन्दा करिब ४० परिवारको बस्तीमा यो समस्या हिउँद बर्खा एकै खालको छ । बिहादी गाउँपालिका स्थापना भएपछि पानीको समस्या समाधान हुने अपेक्षा गरका हनुमानडाँडावासीमा पुरानो समस्या सुल्झिएको छैन ।

स्थानीय अगुवाहरुले पञ्चायतकै पालामा जिल्लासम्म निकै संघर्ष गरेर गाउँसम्म पाइप बोकेर खानेपानीको धारो ल्याएका थिए । त्यसपछि नयाँ आयोजना सञ्चालन भएको छैन ।

२०३५ सालमा खानेपानीको धारा जडान भएपछि छिमेकी वहाकीठाँटीका बासिन्दाले पाइप काटिदिएपछि पानी आउनै छाडेको गाउँलेहरु बताउँछन् । पछि दैनिक २ घण्टा पानी दिने सहमति भएपनि अहिले हनुमानडाँडाका बासिन्दाले त्यही पानीमा चिट्ठा लगाएर भर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button