तपाईँ सुन्दै हुनुहुन्छः

झुलाघाट नाकाबाट निर्यात शून्य

बैतडीस्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ ।

भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ । उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो ।

कृषिजन्य उत्पादनमा कमी आउनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुननसकेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिनुभयो ।

रिठा, भटमास र घ्यू निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको छ ।

लक्ष्यअनुसार राजश्व सङ्कलन भएन

पछिल्ला वर्षमा भन्सारले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न सकिरहेको छैन । भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा रहेको भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार गत आर्थिक वर्षमा पनि राजश्व सङ्कलन गर्न सकेको छैन ।

गत आवमा रु एक करोड नौ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले रु ८९ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७४÷७५ मा रु एक करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ७१ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो । तर आव २०७३÷७४ मा रु एक करोड ४४ लाख र आव २०७२÷७३ मा रु एक करोड ४० लाख राजश्व सङ्कलन भएको थियो ।

मोटरेबल पुल निर्माणका लागि अनशनकोे तयारी

भारतसँग सीमा जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि दबाब दिन रिले अनशन बस्ने तयारी गरिएको छ । झुलाघाट मोटरेबल पुल निर्माण सङ्घर्ष समितिको गोठलापानीमा बसेको बैठकले यही भदौ २२ गतेदेखि अनिश्चितकालीन रिले अनशन बस्ने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिनुभयो । झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको अर्थतन्त्रमा व्यापक असर परेकाले पुल निर्माणका लागि सरकारलाई दबाब दिन रिले अनशन बस्ने निर्णय भएको हो । भदौ २२ गतेदेखि बिहान १०ः०० बजेबाट शुरु भएको अनशन प्रत्येक दिन साँझ ५ः०० बजेसम्म चल्नेछ । अनशनमा उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्था र सङ्घर्ष समितिको सहभागिता रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button