तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीमाथि नै गोली प्रहार गर्न खोज्ने युवकलाई गोली हानी नियन्त्रणमा

बीरगंज  । चेकजांचको क्रममा प्रहरीमाथि नै गोली प्रहार गर्न खोज्ने एक जना युवकलाई पर्सा प्रहरीले गएराति गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा निवासी २६ वर्षीय सन्तोष दासलाई प्रहरीले गएराति वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई चोकमा नियमित चेकजांच गर्न खोज्दा उल्टै प्रहरीलाई पेस्तोल निकालेर ताकेपछि निजलाई नियन्त्रणमा लिन दाहिने घुंडामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापाले बताउनुभयो ।

निजको साथबाट प्रहरीले एक थान पेस्तोल र सो मा प्रयोग हुने १७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरी नायब उपरिक्षक गौतम थापाले बताउनुभयो । घाईते दासको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको थापाले जानकारी दिनुभयो ।

विगतमा कर्तब्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भोगेका दासले चार वर्ष अगाडि वीरगन्ज कारागारका तत्कालिन नाईके सफिअहमद माथि खुकुरी प्रहार गरेपछि उनलाई वीरगन्जबाट काठमांडौ स्थित डिल्लीबजार कारागारमा सरुवा गरिएको थियो ।

विगत एक वर्ष अगाडि कारागारबाट छुटेका संतोष दास फेरी अपराधिक गतिविधिमा संलग्न रहेको र निजको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक गौतम थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button