तपाईँ सुन्दै हुनुहुन्छः

स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी

पाल्पा । प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ ।

जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् ।

तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

चार वटै स्थानमा सञ्चालनमा आएको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।

यस कार्यक्रमले कृषकलाई नयाँ प्राविधिकको ज्ञान र शीपसँगै आय आर्जनमा ठूलो टेवा पुग्ने र चार वर्षसम्म निरन्तर कृषकमाझ सञ्चालन हुने भएकाले कृषकले यस कार्यक्रमबाट प्रशस्त आर्थिक लाभ लिन सक्ने अर्यालको विश्वास छ ।

प्रारम्भमा रामपुरको हेक्लाङ्ग क्षेत्रमा करीब ४९४ रोपनीमा यो कार्यक्रममा शुरु गरिएको छ र कार्यक्रमबाट त्यहाँका ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पहिलो चरणमा ५९ लाख २८ हजारको लागतमा ८० प्रतिशत काम सकिएको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन इकाई समिति संयोजक नोलराज भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button