तपाईँ सुन्दै हुनुहुन्छः

२५ हजार मेट्रिकटन डिएपी मल नेपाल भित्रियो

बीरगंज – किसानहरुलाई धानबालीमा आवश्यक पर्ने रासायनिक मलको चरम अभाव भई रहेको बेला कृषि सामग्री कम्पनिले २५ हजार मेट्रिक टन डिएपी मल भित्र्याएको छ भने ३० हजार मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाह आई पुगेको जनाएको छ ।

कृषि सामग्री कम्पनि क्षेत्रिय कार्यालय वीरगंजका प्रमुख गोविन्द पराजुलीले १० हजार मेट्रिक टन मल वीरगंज स्थित सिर्सिया सुख्खाबन्दरगाहमा आई पुगेको र सो मल जनकपुर, हेटौंडा, त्रिशुली, कावासोती, भरतपुर, धुलिखेल, काठमाडौं, गजुरी, कलैया, सर्लाही, चन्द्रपुर, सिन्धुली, दमौली लगायतका स्थानमा पठाईएको बताउनुभयो ।

त्यसैगरी कृषि सामग्री कम्पनिले आयात गरेको २५ हजार मेट्रिकटन डिएपी मल मध्ये ९ हजार मेट्रिकटन भैरहवा पठाईएको र ६ हजार मेट्रिकटन विराटनगर पठाईएको समेत पराजुलीले बताउनुभयो । यसैगरी अब धान पसाउने बेला आवश्यक पर्ने युरिया मलको समेत कृषि सामग्री कम्पनिले मौजुदा गर्ने तयारी गरेको छ ।

हाल वीरगंजका लागि १३ हजार मेट्रिकटन, भैरहवाका लागि १० मेट्रिकटन र विराटनगरका लागि ७ हजार ५ सय मेट्रिकटन मल भारतको कोलकाता बन्दरगाहमा आई सकेको र सो मल एक साता भित्र वीरगंज, भैरहवा र विराटनगर पुग्ने कृषि सामग्री कम्पनिका सूचना अधिकारी विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

भैरहवा र विराटनगरको मल सडक मार्ग हुदै ट्रकबाट हिडेको र वीरगंजमा आउने मल रेल मार्फत आउने हुँदा रेल्वे र्याक उपलब्ध हुनासाथ एक साता भित्र बीरगंज पुग्ने गरी कोलकाताबाट हिडने समेत सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी पोटास मल भने कृषि सामग्री कम्पनि सित मौजुदा रहेकोले यसको समस्या नरहेको क्षेत्रिय प्रबन्धक पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button