तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका जीवन सुनार १६ वर्षेदखि गिट्टी कुटेर जीविकोपार्जन गर्दै

 सल्यान, भदौ– बन्गाड कुपिन्डे नगरपालिका सल्लीबजारका ५८ वर्षिय अपाङ्गता भएका जीवन सुनार गिट्टी कुटेर गुजारा धानी रहेका छन् । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा भत्ता मासिक ६ सय रुपैयाले घर चल्न नसके पछि उनी गिट्टी कुटेर जीविकोपार्जन गर्दै आईरहेका हुन ।

सम्पत्तिको नाममा  एक रोपनी जग्गा भएका सुनार जन्मजात अपाङ्गता (दुवै खुट्टा नभएका) हुन । बैसाखीको भरमा उनी हिडडुल गर्ने गर्दछन् । उनले भने ‘२०५८ सालमा दार्माबाट सल्लीबजार आए सम्पतिको नाममा एक रोपनी आबादी घरबास भएको जग्गा मात्र छ । त्यसमा खाद्यबाली उत्पादन नहुने भएकाले १६ वर्षदेखि गिट्टी कुटेरै जीवन निर्वाह गर्दै आइरहेको छु ।’

‘सरकारले दिने भत्ता नाम मात्रको भएको बताउँदै सुनारले औषधी उपचार गर्नसमेत नपुग्ने बताए । उनले भने, ‘आफूले गर्नसक्ने काम भएकाले गिट्टीलाई नै आयआर्जनको माध्यम बनाएको छु ।’

दिनभरिमा २ बोरा गिट्टी कुटदै आएको सुनारले बताए । उनका अनुसार बोराको ६० रुपैयाँमा गिट्टी हुने गरेको छ । उनले हप्ताभरि कुटेको गिट्टी एकैपटक बिक्री हुने गरेको छ । ‘खुट्टाको समस्याले अरु केही काम गर्न सकिदैन, घर नजिकै बसेर गिट्टी कुट्छु, उनले भने, ‘अहिले गिट्टी नै मेरो सहारा बनेको छ ।’ पक्की घर निर्माणको ठेक्का लिएका व्यवसायीले गिट्टी खरिद गर्ने गरेको उनले बताए ।

बिहान ६ बजेदेखि वेलुकी ६ बजेसम्म गिट्टी कुटै आइरहेको उनले बताए । एकजनाको ज्यान गिट्टी कुटेकै रकमबाट घरको चुलो बन्ने गरेको सुनारको भनाई छ । मजदुरी गर्ने उनका भाइले बिहान संकलन गरिदिएको ढुंगाबाट सुनारले गिट्टी उत्पादन गर्ने गरेका छन् ।

‘फुर्सदको समय बिताउन पनि सजिलो भएको छ, आम्दानी पनि हुन्छ,’ उनले भने, ‘कहिलेकाँही भाइको परिवारमा गाह्रोसाह्रो पर्दा हेरफेर गर्ने गरेको छु, गिट्टी कुटेर कमाएको रकमले राम्रै निर्वाह भइरहेको छ ।’ बिक्री गर्न समस्या नभएकाले गिट्टी कुटेर ठिकै आम्दानी भएको उनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button