तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैंकको तथ्यांक भन्छ, ‘देशको आर्थिक अवस्था खस्कियो’

काठमाडौं – राष्ट्र बैंकको आंकडा अनुसार देशको समग्र आर्थिक अवस्था कमजोर देखिएको छ । गत आर्थिक वर्षको  तुलनामा देशका आर्थिक सूचकहरु खस्कदै गइरहेका छन्।

गत आर्थिक वर्षमा आर्थिक बृद्धि ७.१ प्रतिशत र मुल्यबृद्धि ४.६ प्रतिशत भए पनि अन्य आर्थिक सूचकहरु केलाउँदा भने आर्थिक अवस्था कमजोर नै रहेको देखिन्छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ ले  देशको आर्थिक अवस्था खस्कदै गएको देखाएको हो ।

आर्थिक बृद्धि ७.१ र मुल्यबृद्धि ४.६ प्रतिशत 

सरकारले गत आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षा मार्फत आर्थिक बृद्धिको लक्ष्य ७.५ प्रतिशत राखेको थियो । गत आर्थिक वर्षमा देशको आर्थिक बृद्धि ७.१ रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै गत आर्थिक वर्षमा मूल्यबृद्धि लक्षित सीमाभन्दा कम नै छ । गत वर्ष मूल्यबृद्धि ४.६ प्रतिशत मात्र थियो।

व्यापारघाटा १३.५ प्रतिशतले बृद्धि

आयातको तुलनामा निर्यात कम हुँदा नेपालको व्यापारघाटा १३.५ प्रतिशतले बढेर १३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आयातको बृद्धिदर १३.९ प्रतिशत बृद्धि भई रु १४ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ । त्यस्तै निर्यातको बृद्धिदर १९.४ प्रतिशतले बृद्धि भई रु.९७ अर्ब ११ करोड पुगेको छ।

अघिल्लो आर्थिक वर्षमा आयातको बृद्धिदर २५.८ प्रतिशत र निर्यातको बृद्धिदर ११.४ प्रतिशत रहेको थियो । नेपालको आयात गत वर्षको तुलनामा कम हुँदै गएको छ भने निर्यात विस्तारै बृद्धि हुँदै गएको छ ।

नेपालबाट निर्यात हुने गन्तव्यका आधारमा भारततर्फ ३४.३ प्रतिशत र अन्य मुलुकतर्फ ०.२ प्रतिशतले निर्यात बृद्धि भएको छ। चीनतर्फको निर्यातमा १३.५ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम आयल, पोलिष्टर यार्न, जुटका सामान, दाल, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, पश्मिना, जुत्ता तथा चप्पल, छाला लगायतका वस्तुहरुको निर्यात घटेको छ।

त्यस्तै वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२.८ प्रतिशत, चीनबाट भएको आयात २८.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८.९ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान,अन्य मेसिनरी पार्टपुर्जा, एम.एस. बिलेट लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लाष्टिक दाना लगायतका वस्तुहरुको आयात घटेको छ ।

रेमिट्यान्स १६ प्रतिशतले बढ्यो, विदेशी विनिमय सञ्चिति घट्यो

त्यस्तै गत वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेर रु.८ खर्ब ७९ अर्ब २७ करोड पुगेको छ। तर कुल विदेशी विनिमय सञ्चिति भने अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ अर्ब ६७ करोड कम भई रु.१०३८ अर्ब ९२ करोड छ।

अघिल्लो आर्थिक वर्षमा विदेशी विनियम सन्चिति रु ११०२ अर्ब ५९ करोड थियो। २०७६ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ।

आर्थिक वर्ष २०७५/७६ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

चालु खाता र शोधनान्तर स्थिति घाटामा

गत आर्थिक वर्षमा चालु खाता र शोधनान्तर स्थिति दुवै घाटामा छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा चालु खाता रु.२ खर्ब ६५ अर्ब ३७ करोडले घाटामा छ।

अघिल्लो वर्ष यस्तो घाटा रु.२ खर्ब ४७ अर्ब ५७ करोड थियो । त्यसैगरी गत आर्थिक वर्षमा शोधनान्तर स्थिति रु ६७ अर्ब ४० करोडले घाटामा छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.९६ करोडले बचतमा थियो । नेपालको आर्थिक अवस्थाको सूचक शोधनान्तर स्थिति र चालु खाता घाटा पनि हो। तर यी दुवै घाटामा रहँदा नेपालको आर्थिक अवस्था नाजुक रहेको छ भन्ने बुझ्न सकिन्छ।

वैदेशिक लगानी घट्यो 

नेपाल राष्ट्र बैंकका अनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४ अर्ब ४४ करोड रुपैयाँले घटेको छ। गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी रु.१३ अर्ब ७ करोड रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो लगानी रु.१७ अर्ब ५१ करोड  थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button