तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिक कमजोरी रहेको निश्कर्ष सहित बुझायो छानविन समितिले प्रतिवेदन

काठमाडौँ – संघीय संसदको विभिन्न समितिका सभापतिहरुका लागि गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित समितिले आज सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाएको छ ।

संसदीय समितिका सभापतिहरुका लागि खरिद गरिएका ११ वटै गाडीमा समस्या आएपछि छानबिनका लागि गठित राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी संयोजक रहेको समितिले सभामुख महरालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै सभामुख महराले गाडी खरिदमा ठूलो प्रक्रियागत कमजोरी नदेखिएको भन्दै देखिएका प्राविधिक कमजोरीहरुको अध्ययन् गरेर कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

समितिका संयोजक सासंद रामनारायण विडारीले सभापतिहरुका लागि खरिद गरिएको ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै प्राविधिक समस्या देखिएको भएपनि गाडी खरिद गर्दा प्रक्रियामा कुनै कमजोरी नदेखिएको बताउनुभयो ।

उहाँले, कुनै गाडीमा गियरको समस्या, कुनैमा छतको समस्या, कुनैमा अवाज बढी आउने, कुनैमा स्टिकर उक्कने, डोर भाइजर कम गुणस्तरको रहेको र स्पिकर अर्कै कम्पनीको प्रयोग गरिएको पाइएको जानकरी दिनुभयो ।
सांसद विडारीले खरिद गरिएका गाडी मर्मत गर्न ७ दिनको समय दिने र ७ दिन भित्र मर्मत हुन नसकेमा गाडी फिर्ता गर्नु पर्ने सुझाव प्रतिवेदन मार्फत् दिइएको जानकारी समेत दिनुभयो ।

संघीय संसद सचिवालयले विभिन्न समितिका सभापतिहरुका लागि खरिद गरेको गाडीमा कमजोरी देखिएपछि उक्त विषयमा छानबिन गर्न १५ दिनको समय दिएर सांसद विडारीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

समितिको सांसदहरूमा तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल र भरतकुमार कुमार शाह सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button