तपाईँ सुन्दै हुनुहुन्छः

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगतको रिपोर्ट अब दुई घण्टामै पाइने

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ । हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्यवस्था थियो । बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट दिइँदै आएकामा दुई–दुई घण्टाको फरकमा रिपोर्ट दिन थालिएको उहाँले जानकारी दिनुभयो । परीक्षणका लागि लामो समय कुर्नुपर्ने नमूना बाहेक तत्काल परीक्षण गर्न सकिने नमूनाको रिपोर्ट तत्कालै दिन शुरु गरिएको हो ।

यसैगरी उक्त अस्पतालले आजदेखि नयांँ भवनबाट आकस्मिक सेवाका लागि प्याथोलोजी सेवा पनि दिन थालेको छ । प्याथोलोजी विभाग टाढा भएको र सबै परीक्षण त्यही हुने भएकाले आकस्मिक सेवाको लागि पनि कुर्नुपर्ने बाध्यता थियो । कार्यकारी निर्देशक आचार्यका अनुसार आकस्मिक सेवालाई बिरामी भर्ना भएको भवनबाटै सेवा दिँदा छिटो र छरितो हुने भएकाले सोको व्यवस्था गरिएको हो ।

अस्पतालका प्याथोलोजिष्ट डा. रञ्जनराज भट्टका अनुसार आकस्मिक सेवाअन्तर्गत ‘युरिया क्रेटीनियन, सोडियम, पोटासियम, हेमोग्लोबिन, प्लेटलेट्स, डब्लुबीसी काउण्ट’जस्ता परीक्षण आकस्मिक सेवाबाटै दिइनेछ । अन्य सबै परीक्षण प्याथोलोजी विभागबाट हुने उहाँले जानकारी दिनुभयो । हाल ४४३ श्यया सञ्चालनमा रेहेको सो अस्पतालमा नेपालभर र भारतबाट पनि उपचारका लागि बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button