तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

मेलम्ची । मुलुकको एक सय गन्तव्य भित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका यत्तिखेर पर्यटकलाइ आकर्षित गर्नका लागि विभिन्न विकास निमार्णको कार्यमा व्यस्थ छ । गाउँपालिकाले यत्तिखेर विकास निर्माणमा मात्र जुटेको छैन विभिन्न पर्यटकीय स्थलको पहिचान गरी प्रचारप्रसारमा समेत जुटिरहेको छ ।

 हयोल्मो सँस्कृति झल्कने आर्कषक एकिकृत बस्ति, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानिको आयोजनाको ड्याम लगायतका क्षेत्रहरुका कारणपनि हेलम्बु एतिबेला चर्चामा छ ।
यत्तिखेर गाउँपालिकाले भिजिट नेपाल २०२०’ लाई लक्षित गरीे ग्रेट हिमालयन ट्रेल (पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणलाई जोड दिएको हो । ६० किलोमिटर लामो हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निमार्णको काम धमाधम भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताउनुभयो ।

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण कार्य तीव्र पारिएको हो । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै गोसाइँकुण्ड र लाङटाङ पुग्न सकिने गरी पुराना र नयाँ गरी दर्जनभन्दा बढी स्थानमा पदमार्ग बन्दै गरेका हुन् ।

करिब ६० किलोमिटर लम्बाइ रहने सो ग्रेट ट्रेल हेलम्बु गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको अवलोकन गर्न सकिने गरी निर्माण गर्न लागिएको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष कोपिला पण्डितको भनाइ छ । उपाध्यक्ष पण्डितका अनुसार  पर्यटन विभागले स्थानीय तहको समन्वयमा २ करोडको लागतमा पदमार्ग निर्माण भइरहेको हो । हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटर पदमार्गमध्ये १५ किमिको काम सकिसकेको छ । पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमिमा पनि १० किमी मात्रै काम बाँकी रहेक गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृतत भिमराज कोइरालाले जानकारी दिनुभयो ।

पुराना पदमार्गलाई मर्मतसम्भार र नयाँका लागि ट्रयाक खोलेर पदमार्ग बनाइएको हो । यो पदमार्ग निर्माणले हेलम्बु गाउँपालिकाको पर्यटन प्रवर्द्धन उकास्न कोशेढुंगा साबित हुने विश्वास अध्यक्ष शेर्पाको छ ।
बजेट र अनुमानित लागत
उक्त कामका लागि प्रदेश नं ३ बाट रु ५० लाख अनुदान निकासा भएको थियो । त्यसैबाट पालिकाकै प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्गको निर्माणकार्य शुरु गरिएको पालिकाका सव–इञ्जिनीयर शेरबहादुर राईले जानकारी दिनुभयो ।

पहिलो ‘रुट’मार्गअन्तर्गत हाल निर्माण शुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिने छ । त्यसैगरी दोस्रो रुटमा हेलम्बु–६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुङ्गिने कार्यक्रम छ । दुवैतिरबाट शुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अङ्ग्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ । सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने बताइएको छ । पदमार्गा कडा चट्टाने ढुङ्गालाई काटेर इँटाको रुपमा तयार गरी निर्माण भइरहेको छ । सो मार्ग एक मिटर पूरा गर्न रु ३० हजार लाग्नुका साथै समय पनि बढी लाग्ने गर्दछ । झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिन्छ ।

हेलम्बुमा अहिले पनि  वार्षिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पर्यटकको सुविधार सुरक्षाका आधारहरु नहुँदा पनि हेलम्बु आझेलमा परेको अध्यक्ष शेर्पाको भनाइ छ । बर्षेनि भित्रने पर्यटकलाइ  वृद्धि गरी पर्यटकको सुविधा र सुरक्षालाइ ध्यान दिएर  सो पदमार्ग निर्माण गर्न लागिएको हो । ह्योल्मो भूमि र धार्मिक स्थलको रुपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि समेत पदमार्ग निर्माण गरिएको हो । यसले हेलम्बुमा पर्यटक विकासका लागि धेरै सहयोग गर्ने गाउँपालिका अध्यक्ष शोर्पाको भनाइ छ । समग्र हेलम्बुलाइ  पदमार्गले घेर्ने लक्ष्य गाउँपालिकाले लिएको शोर्पाले सुनाउनुभयो ।

‘लाङटाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन् । अर्को हेलम्बुको कुटुम्साङ, माग्नीकोट, ठाडेपाटी गोसाइँकुण्ड रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ । अध्यक्ष शेर्पाले भन्नुभयो, ’हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीहरुलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण जरुरी देखिएको छ त्यहि अनुरुप हामिले काम थालेका हौँ ।’पदमार्ग निमार्ण पछि पर्यटकले ढुक्क भएर ओहोरदोहोर गर्न सक्ने शोर्पाले बताउनुभयो ।

झन्डै एक सय किलोमिटर दुरीमा रहेको काठमाडौंको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुम्साङबाट ठाडेपाटी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले पनि चलिरहेको छ । सो पदमार्गले गर्दा स्थानियहरुलाइ दैनिक काम गर्न समेत सहज भएको छ ।  स्थानीय मिङ्मार लामाका अनुसार पदमार्गले   सिन्धुपाल्चोक र रसुवा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि टेवा पुग्ने बताउनुभयो । हेलम्बुमा पहिला देखिनै पदमार्ग थियो नै । पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति र्पुयाएको थियो । भत्किएका पदमार्ग हुँदै गन्तव्यसम्म पुग्नका लागि पर्यटकहरु कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकाहरुलाई पनि मर्मत गरिएको हो । ‘पुराना पदमार्ग मेटिन थाल्ने अवस्थामा पुग्न लागिसकेकोमा स्थानियले चिन्ता लागेको समेत बताएका थिए । तर पर्यटक फेरि पनि गाउँछिर्न थालेका छन् । यस्ले गर्दा हेलम्बु बासिमा छुट्टै खुसियालि छाएको छ ।  ‘अहिले हेलम्बु गाउँपालिकाको समन्वयमा पदमार्ग निर्माणले तीव्रता पाएपछि पर्यटक बढ्ने क्रम जारी रहेको हेलम्बुका सुकुमान तामाङले बताउनुभयो ।

‘धर्मचक्र पर्खाल’
लामो दुरीका दर्जनौं पदमार्गलाई पहिलेकै अवस्थामा ल्याउनको लागि हेलम्बु गाउँपालिकाले पर्यटकीय पदमार्ग कार्ययोजना बनाएको छ । जसमा लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल घुम्दै डुब्कुबाट मेलम्ची खानेपानीको मुहान हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ बनाएर काम थालेको छ ।
हेलम्बु वडा १ का अध्यक्ष मिङमार लामाका अनुसार पदमार्ग निर्माणले पवित्र स्थल ‘छुह्यालागेन्जेन’ हेर्ने पर्यटकको पनि वृद्धि हुनेछ । उनका अनुसार ‘छुह्याला गेन्जेन’ को अर्थ एक सय ८ वटा पानीको मुल फुटिरहेको बालुवा भएको चौर हो । प्राचीन गुम्बैगुम्बाको सहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङुल, झिचेन मिलारेपा गुफा, ढुक्पु, महागुरु रेन्पोछे छापसम्म एक दर्जन पदमार्ग जोड्दै लगिएको छ ।
हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, यांग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । ‘पर्खालमा पर्ने पाकेडाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचरोसमेत देख्न सकिन्छ,’ । शेर्पाका अनुसार सम्पदा, प्रकृति तथा पर्यावरणीय दृश्य, जंगली जनावर र स्थानीय धर्म, संस्कृति अवलोकन पदयात्रा प्रमुख विशेषता हुने छन्। रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने पदयात्रा घुम्दा गर्दा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थल परिक्रमा हुने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट हिमालयन ट्रेल’लाई ‘धर्मचक्र पर्खाल’को रुपमा समेत जोडेको छ ।
लाङटाङ, गोसाइकुण्ड, ग्वोञ्जलापास र सुन्दरीजल पदमार्ग जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ । २ हजार ४ सय मिटर उचाइबाट सुरु भई ५ हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ। चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको सोचाइ आएको अध्यक्ष शेर्पा ले बताउनुभयो । ‘हेलम्बु आफैंमा पर्यटकीय गाउँ हो। त्यसैले वार्षिक लाखौं पर्यटक पदमार्ग पर्खाल हेर्न आउँछन् भन्ने विश्वास गाउँपालिकाले लिएको छ,’ उहाँले भन्नुभयो ।
पदमार्गको पर्खाल स्थानीय स्लेट ढुंगा प्रयोग गरेर बनाइँदै छ । आकर्षक ढंगले काटिएका ढुंगा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० वटा दरका सिँढी ९खुड्किलो० बनाउँदै जोडिने छ । साढे २ मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे २ मिटर अग्लो पर्खाल लगाइने छ । ‘ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएको ढुंगामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्छौं,’ अध्यक्ष शेर्पाले भन्नुभयो ।

ह्योल्मो संस्कृतिको प्रवर्द्धन
नेपालमा ह्योल्मो समुदायको लोपोन्मुख संस्कृति हेलम्बुमा मात्रै देख्न पाइन्छ । हेलम्बु गुम्बाको गाउँ नामले समेत चर्चित छ। शेर्पा, ह्योल्मो समुदायको बाहुल्य रहेको यो गाउँपालिकामा बौद्धधर्म गुरु पद्यमसम्भवको साधनास्थलको रुपमा समेत प्रसिद्ध छ । त्यसैले यहाँ घुम्नका साथै ध्यान, साधना गर्न वार्षिक हजारौँको संख्यामा देश र विदेशबाट पर्यटक तथा बौद्धमार्गी आइपुग्छन् । हेलम्बु धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्य समेत रहेकाले पदमार्ग पर्खालको महत्व अझ बढ्ने उहाँको विश्वास छ ।
उहाँका अनुसार ६० किमि पदमार्ग पर्खाल घुम्न पदयात्रा एक साताको समय लाग्ने छ । पदमार्ग पर्खालका ठाउँ–ठाउँमा सोलार बत्ती, पार्क, भ्यूटावर आकर्षणका रुपमा रहनेछन्। पदमार्ग पर्खालमा पर्ने भेन्थाङमा रहेको बिहाल चौरलाई हिमाल आरोहरणको तालिम केन्द्र बनाउने नीति पालिकाले गाउँसभाबाट पारित गरेको छ । ‘भेन्थाङ आधा दर्जन हिमालको आधार शिविर पनि हो । तर अहिले सम्म आरोहण सुरु हुन नसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button