तपाईँ सुन्दै हुनुहुन्छः

स्व. देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत

दोलखा/नेपाल पत्रकार महासंघ दोलखा शाखाले संस्थापक सभापति स्व. देवदास श्रेष्ठको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण तथा स्मृति सभाको आयोजना गरेको छ ।

सो अवसरमा प्रदेश सांसद विशाल खड्काले संघिय व्यवस्थालाई सफल पार्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । मुलुकमा लोकतन्त्र प्राप्त गर्न होस् या नागरिक अधिकार बहालिको सवालमा होस् हरेक आन्दोलनमा पत्रकारहरुले मानव अधिकारवादी, नागरिक समाज, पत्रकार सबै भूमिका सफलता पूर्वक निर्वाह गर्नु भएको छ प्रदेश सांसद खड्काले भन्नु भयो – अब संघिय लोकतान्त्रिक व्यवस्थालाई सफल बनाउन पनि पत्रकारकै महत्वपूर्ण भूमिका रहन्छ ।

सांसद खड्काले मुलुकमा सुशासन, विकास तथा समृद्धिको लागि आपसि समन्वय आवश्यक रहेको उल्लेख गर्नुहुदै राजनीतिक दल, पत्रकार, नागरिक समाज, अधिकारकर्मीहरुमा अहिले समन्वयको अभाव देखिएको बताउनु भयो । स्व. पत्रकार श्रेष्ठले समन्वयात्मक ढङ्गले आफ्नो पेशालाई अगाडी बढाएको चर्चा गर्नुहुदै प्रदेश सांसद खड्काले त्यसको निरन्तरताको लागि दोलखाली पत्रकारहरुले प्रयत्न गर्नुपर्ने बताउनु भयो ।

स्व. श्रेष्ठको स्मृतिमा नेपाल पत्रकार महासंघ दोलखाले स्थापना गरेको स्व. देवदास स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट नागरिक दैनिकका दोलखा संवाददाता रमेश खतिवडालाई र स्व. देवदास स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार नीता राउतलाई पुरस्कृत समेत गरिएको छ । १० हजार राशीको उक्त पुरस्कार प्रदेश सांसद विशाल खड्काले वितरण गर्नु भएको थियो । उक्त पुरस्कारको राशी दुवै पत्रकारले भवन निर्माणको लागि पत्रकार महासंघ दोलखा शाखालाई नै हस्तान्तरण गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका सभापति जिवन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ तीन नम्वर प्रदेशका अध्यक्ष एवं नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस सेन्टरका प्रस्तावित केन्द्रीय सदस्य सरद सापकोटा, नेपाल प्रेस युनियन बागमति विशेष क्षेत्र संयोजक रमेश खतिवडा, दोलखा अध्यक्ष दीपशङ्कर चौलागाई, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष लक्ष्मण थामी र सचिव विनिता शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघका संस्थापक सभापति स्व. श्रेष्ठको २०६२ साल भदौ १६ गते ह्रदयघातका कारण मृत्यु भएको थियो । त्यस यता नेपाल पत्रकार महासंघ दोलखा शाखाले उहाँको स्मृतिमा हरेक बर्ष स्व. देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार वितरण तथा स्मृति सभाको आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button