तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील

रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्र्धनात्मक कार्यको थालनी गरेका हुन् ।

जिल्लाको एक मात्र नगरपालिकाले ५ करोड रुपैयाँको लगानीमा भ्यू टावर निर्माण कार्यको थालनी गरेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त परियोजना सम्पन्न भएपछि पर्यटन उद्योगको थप विकास हुने नगरपालिकाको अपेक्षा रहेको छ । रोल्पा नगरपालिकाको वडा नं ३ सातदोबाटोमा निर्माण गर्न लागिएको उक्त टावरको उचाइ ११० फिट रहने बताइएको छ । भ्यू टावर देशकै अग्लो हुने नगरपालिकाले दावी गर्दै आएको छ । अघिल्लो वर्ष र यस वर्ष विनियोजित रु दुई करोडबाट काम थालनी गरिएको हो । बाँकी दुई वर्षभित्र क्रमागत रुपमा ३ करोड थपेर कुल ५ करोड रुपैयाँको लागतमा भ्यू टावरको निर्माण गरिने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले बताउनुभयो । सोही स्थानमा रक गार्डेन समेत निर्माण गरिएको छ । डिभिजन वन कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त लगानीमा निर्मित उक्त बगैँचा निर्माणका लागि १३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । डिभिजन वन कार्यालय रोल्पाको ९ लाख र रोल्पा नगरपालिकाको ४ लाख रुपैयाँ लगानी रहेको उक्त बगैँचाको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनको काम भने रोल्पा नगरपालिकाले गर्ने भएको छ । चालु आर्थिक वर्षमा उक्त बगैँचामा शौचालय, टिकट घर, टहरा, चौतारी र बस्ने ठाउँहरुको निर्माण गरिने नगर प्रमुख केसीले बताउनुभयो । पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभएको उक्त बगैँचामा दैनिक सरदर ४०० आगन्तुकले घुम्ने गरेका छन् । प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको उक्त बगैँचा हेर्न आउने विद्यार्थीले भने पचास प्रतिशत छुट पाउँछ । टिकट बिक्रीबाट दैनिक सरदर पाँच हजार रुपैयाँ आम्दानी हुँदै आएको बताइएको छ । बगैँचाको सुरक्षा र टिकट वितरणका लागि दुई स्थानीय युवकले रोजगारी समेत पाएका छन् ।
यसका अतिरिक्त रोल्पा नगरपालिकाले गुरुङ सामुदायिक होम स्टे प्रवद्र्धनको काम पनि गरिरहेको छ । रोल्पा नगरपालिका वडा ४ गुरुङ गाउँमा यसका लागि पूर्वाधार निर्माण र प्रवद्र्धनात्मक काम भइरहेको छ । होम स्टे सञ्चालनमा आएपछि नगरपालिकाको पर्यटन उद्योगलाई थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा छ ।

नगरपालिकाले जंकोटमा मगर सङ्ग्रहालय निर्माणको कामको पनि शुरु गरेको छ । मगर सङ्ग्रहालय नगरपालिकाको रेखदेख रहने गरी प्रदेश र सङ्घीय सरकारको बजेटबाट बन्दैछ । सशस्त्र सङ्घर्षताका तत्कालीन माओवादी सेनाले तालीम गरेको दारवोट र पेवामा पनि संरचना बनाउन थालिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । केसीका अनुसार पूर्वाधार बाहेक प्रवद्र्धनात्मक कार्यक्रमका लागि नगरपालिकाबाट ३० लाख बजेट विनियोजन गरिएको छ ।
स्वर्गद्वारी महाप्रभूको जन्मस्थलको नामले प्रख्यात रुन्टीगढी गाउँपालिका पर्यटन विकासमा जिल्लामै अग्रपङ्क्तिमा देखिएको छ । विगतका वर्षहरुमा प्रचारात्मक काममा बढी लगानी गरेको उक्त गाउँपालिकाले यस वर्ष भने पर्यटन पूर्वाधार र प्रवद्र्धनलाई सँगसँगै लाने भएको छ । पर्यटन पूर्वाधारका लागी महाप्रभूको जन्मस्थल रुन्टीमा पूर्वाधार निर्माणको काम हुने भएको छ । यसैगरी, माओवादीले सशस्त्र सङ्घर्षको घोषणा गर्दा पहिलो पटक प्रहरी चौकी आक्रमण गरिएको होलेरीमा शान्ति स्मारक बन्ने भएको छ । गढीलेखमा पूर्वाधार निर्माण, गुराँस संरक्षण अभियान, होलेरी डाँडामा व्यवस्थित पार्क सहितको भवन निर्माणको योजना गाउँपालिकाले अघि सारेको गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति दीपक डिसीले जानकारी दिनुभयो । प्रवद्र्धनात्मक कामका रुपमा गाउँपालिकाले यस वर्ष राष्ट्रिय मिडिया सम्मेलन गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ रोल्पाको संयुक्त आयोजनामा गरिने उक्त सम्मेलनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गाउँपालिकाको आशा छ । यसका अतिरिक्त एक्स्पो रुन्टीगढी पनि सञ्चालन हुने भएको छ । देशका व्यावसायिक सञ्चारकर्मीहरुको सहभागितामा हुने उक्त एक्स्पोमा पत्रकार तथा सञ्चारकर्मीहरुले गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रतिवेदन तयार गर्नेछन् । त्यसरी तयार गरिएको प्रतिवेदन पर्यटन बोर्डमार्फत ‘एनिमेशन’ गरिने डिसीले बताउनुभयो । सबै कामको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम शुरु भएको छ ।
“कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई गाउँपालिकाको प्राथमिक योजनाको रुपमा अगाडि सारेका छौं,” गाउँपालिका अध्यक्ष बालाराम बुढाले भन्नुभयो – चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका लागि ४५ लाख र भौतिक संरचना निर्माणका लागि ४ करोड बजेट विनियोजन गरेका छौं । अत्यावश्यक बाहेक सडक निर्माणको कामलाई प्राथमिकतामा नराखिएको अध्यक्ष बुढाले बताउनुभयो । आर्थिक विकासका लागि कृषि र पर्यटन नै गाउँपालिकाको मेरुदण्ड भएकाले यसतर्फ लगानी बढाएको बुढाको भनाइ छ ।

जिल्लाको माडी गाउँपालिकाले युद्ध पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम अघि सारेको छ । सेना र माओवादी भिडन्त भएको हान्निङमा संरचना निर्माण गर्ने, वडा नं ५ को पुलवाङमा युद्ध पर्यटनको संरचना तयार गर्ने जस्ता कार्यका लागि चालु आर्थिक वर्ष रु ३० लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिनुभयो । “पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचले कामको थालनी गरेका छौं,” अध्यक्ष पुनले भन्नुभयो ।
यता, थवाङ गाउँपालिकाले समेत पर्यटन विकास र प्रवद्र्धनको काम अगाडि बढाएको बताएको छ । नेपाल भ्रमण वर्ष २०२० मा देशका १०० गन्तव्यमध्ये एक रहेको जलजलामा संरचना निर्माण र प्रचारप्रसारको काम सँगसँगै अगाडि लगिएको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीेले बताउनुभयो । ऐतिहासिक थवाङ गाउँमा युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । “पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि चालु आर्थिक वर्षमा पत्रकार महासङ्घ रोल्पासँग साझेदारी गरी प्रदेश स्तरीय मिडिया सम्मेलन गर्ने योजना बनाएका छौं,” अध्यक्ष घर्तीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button