तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा चौठचन्द्र (चौरचन) पर्वको उल्लास्ः साँझमा चन्द्रमाको पूजा

धनुषा। मधेशमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेशको विशिष्ठ पर्व हो ।

चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मधेशी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही बिश्वासले मधेशी समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने चलन रहेको छ ।

मधेशी समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण धार्मिक अनुष्ठानदेखि साहित्य, सङ्गीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनि आराधना गर्दै आएको देखिन्छ । चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ । शारीरिक कान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ । योग शास्त्रअनुसार चन्द्रबिम्ब ध्यानले विश्वको समस्थ घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ ।

भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ पनि भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो । लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ । हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ । यो पर्वको प्रारम्भ नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ । उनी ज्योतिष शास्त्र ज्ञाता भएकाले चन्द्रमा पूजाको परम्परा प्रारम्भ गरेको बिश्वास पाइन्छ ।

मधेशी समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई विन्ती गरिन्छ । यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्यका लागि पकवान तयार गरिन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरिन्छ । मधेशमा आज यस पर्वको उल्लास छाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button