तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक दोहनले उपत्यका भासिँदै

काठमाडौं।  मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन् । पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम तीव्र रूपमा बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो ।

काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखौंको संख्यामा गहिरा इनार खनिएका छन् । तालका रूपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अत्यधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेको छ । बोरिङका लागि सरकारी निकायले नै बजेट विनियोजन गरिरहेको पाइएको छ । जथाभावी बोरिङ गर्न उक्साउनेमा प्रदेश सरकार अगाडि देखिएको छ । प्रदेश सरकारले बोरिङका लागि खानेपानी समितिहरूलाई बजेट निकासा गरेर नै काम गराइरहेको पाइएको छ । प्रदेश ३ सरकारले बोरिङबाट पानी निकाल्न बजेट विनियोजन गरी काम नै सम्पन्न गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवास्ता गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावी बोरिङ गर्दा उपत्यकाको जमिन भासिने क्रममा रहेको विज्ञहरूले बताएका छन् ।

‘उपत्यकाभित्र इनारको संख्या १ लाख बढी छ । गहिरो बोरिङमध्ये अधिकांश अवैध छन् । वैध भएकालाई पनि जथाभावी अनुमति दिइएको छ,’ उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीले भने, ‘नियमविपरीत ड्रिलिङ गरेको तथ्य काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी छ । तर, अवैध रूपमा भएको त्यस्ता कार्य रोक्न बोर्डले कुनै काम गर्न सकिरहेको छैन ।’ गत साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल बोरिङमध्ये २० प्रतिशतले मात्र बोर्डमा दर्ता गरेका छन् ।
मुलुकको महत्वपूर्ण केन्द्रमा समेत बोरिङ गरिएको छ । सरकारी निकाय, उच्चपदस्थ अधिकारी र विदेशी कूटनीतिक नियोगका कार्यालय तथा अधिकारी बसोबास गरिरहेको घर कम्पाउन्ड, हाउजिङ, अर्पाटमेन्टमा दर्ता नगरी बोरिङ सञ्चालित छन् । सिंहदरबारदेखि राजधानीको मुटु सुन्धारास्थित हुलाक कार्यालयभित्र पनि गहिरो बोरिङ छ । यी बोरिङले पानीको सतह घट्दै छ । जसका कारण जमिन भासिँदै गएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटबाट काठमाडौं उपत्यकामा सयौं बोरिङ गरिए ।

‘वर्षा याममा पानी जमिनभित्र रिचार्ज हुँदैन । यस्तो अवस्थामा बोरिङले धेरै पानी तान्दा जमिनभित्रको पानीको सतह घट्न जान्छ । बोरिङमा तोकिएको बढी पानी तान्दा जमिनभित्र समेत पानीको संकट पर्न जान्छ,’ वातावरणविद् डा. नरेश रिमालले भने, ‘जभाभावी जमिनमा प्वाल पारेर बोरिङ गर्दा भविष्यमा नकारात्मक असर देखिन थाल्नेछन् । जथाभावी ड्रिल गर्दा जमिन भासिने सम्भावना रहन सक्छ ।’

बोर्डले बोरिङको स्वीकृति दिँदा मासिक कति पानी निकाल्ने भनी मापदण्ड तोकेको छ । तर, तोकिएभन्दा सयौं गुणा बढी पानी निकाल्नेछन् । काठमाडौं उपत्यकामा मात्र व्यावसायिक प्रयोजनका लागि ९२, हाउजिङका लागि ७० र आन्तरिक प्रयोजनका लागि ६५ वटा बढी बोरिङ सञ्चालनको अनुमति लिइएको छ । अनुमति नलिई सञ्चालन गर्नेहरू उत्तिकै छन् । गत वर्ष होटलका लागि ३६, विभिन्न संस्थाका लागि ३१ र अस्पतालका लागि भन्दै १५ वटा बोरिङ सञ्चालनको अनुमति दिइएको छ ।

भारतको दिल्ली र हरियाणा राज्यमा अत्यधिक बोरिङले पानीको सतह तल गई जमिन भासिने गरेको छ । हरियाणा राज्यमा पानीको हाहाकार मच्चिसकेको छ । बोरिङ खन्दा विगतमा केही मिटरभित्रबाट पानी आउने गरेकोमा अहिले सयौं मिटर तल जाँदा पनि पानी आउन छाडेको छ । त्यहाँ जमिन भासिएका घटना आइरहेका छन् । नेपालमा पनि अत्यधिक बोरिङले जमिन भासिने खतरा बढ्न सक्छ । इन्डोनेसियामा पनि जमिनमुनिको पानीको सतह घट्दै जाँदा राजधानी नै जोखिममा परेको अध्ययनले देखाएको छ । इन्डोनेसियाले राजधानी नै सार्नुपर्ने स्थिति रहेको पाइएको छ ।

 

वार्षिक १३.५ सेन्टिमिटरले भासिँदै

काठमाडौं उपत्यका अस्तव्यस्त छ । धेरै हिसाबले जोखिममा पनि छ । उपत्यकाको जमिन दिन प्रतिदिन धसिँदै गएको एक अध्ययनले देखाएको छ । हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले भासिँदा मानव बस्तीका लागि समस्या पनि थपिँदै गएको छ । आकाशबाट हेर्दा जति मनमोहक देखिन्छ यो काठमाडौं तर जमिनमा ओर्लिएपछि त्यति नै समस्याले ग्रसित छ । जनसंख्याको बढ्दो चाप र थेगिनसक्नु कंक्रिटको जंगलका कारण काठमाडौं उपत्यका भासिँदै गएको छ । त्रिभुवन विश्वविद्यालय, नास्ट र अमेरिकी संस्था युनाभले संयुक्त रूपमा गरेको पाँचवर्षे अनुसन्धानले काठमाडौं हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले भासिँदै गएको छ । अध्ययन अनुसार पाँच वर्षको अवधिमा काठमाडौं करिब ५० सेन्टिमिटर बढीले भासिएको छ । सबैभन्दा बढी काठमाडौंको छाउनी क्षेत्र भासिएको छ । यो क्षेत्र हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिँदै गएको छ । दोस्रो नम्बरमा खुमलटार क्षेत्र पर्छ । यो क्षेत्र प्रतिवर्ष ११ सेन्टिमिटरका दरले भासिँदै छ । अध्ययनका लागि जीपीएस टावर राखिएका सबैजसो क्षेत्रको जमिन भासिँदै गएको पाइएको अनुसन्धानमा खटिएका भूगर्भविद् अनन्त गजुरेल बताउँछन् ।

जमिन भासिँदा पानीको स्रोतमा सबैभन्दा बढी प्रभाव परेको छ । कीर्तिपुरमा २०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो तर २०७१ सालमा ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा २०५८ सालमा पानीको सतह ३० मिटरमुनि थियो भने २०७१ सालमा ४० मिटरमुनि पुगेको देखिएको छ । मूलपानीमा २०५८ सालमा ३१ मिटरमुनि पानीको सतह थियो, २०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । भूसतहको पानी सुक्दै गएकाले नै जमिन भासिएको हो । यसले भयावह रूप लिनुअघि नै जमिनमुनिको पानीको दोहन रोक्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।

भूमिगत जलस्रोतको दोहनकै कारण भासिन थालेको जमिन चिरा पर्नुअघि नै सचेत नभए स्थिति भयवाह हुन सक्ने विज्ञहरूको चेतावनी छ । अनुसन्धानले बेलैमा पत्ता लगाएको विषयलाई हेल्चेक्र्याइँ नगर्न र काठमाडौंमा तत्कालै पानीका अन्य स्रोतको जोहो गर्न सरकार तत्पर हुन जरुरी छ ।
काठमाडौंका विभिन्न ठाउँमा पनि ‘सिंकहोल’ बनेको छ । काठमाडौंको चमती, जुन स्वयम्भू, नयाँबजार र शोभा भगवतीको बीचमा पर्छ । उक्त स्थानमा पाँच वर्षअघि भ्वाङ परेको थियो । भ्वाङ पर्नुको मुख्य कारण थियो, जमिनमुनिको पानी अत्यधिक दोहान । करिब ४० फिट गहिरो खाल्डो बन्दा कुनै भयानक दुर्घटना भने हुन पाएको थिएन । काठमाडौंको भूबनोट, जमिनमुनिको पानीको अत्यधिक प्रयोग र ठूल्ठूला भवन बन्दै गर्दा यहाँको जमिन पनि भासिने क्रम बढेको अध्ययनकर्ताले औंल्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button