तपाईँ सुन्दै हुनुहुन्छः

तीजको अवसरमा आधा घण्टामै पशुपतिनाथको दर्शन

काठमाडौं । हरितालिका पर्व  तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा आज भक्तजनले आधा घण्टामै दर्शन गर्न पाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको कोषले जनाएको हो ।

मन्दिर प्रवेशका लागि पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

वैकल्पिकरूपमा २०६५ सालदेखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि खोलिएको छ । कोषले लामो समयदेखि पूर्वी ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको हो ।

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउनको सोमबार जस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button