तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

भोजपुर,-  गत असार अन्तिममा बर्षासँगैको पहिरोमा परी ज्यान गुमाएका परिवारलाई भोजपुरबाट वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत भोजपुरेहरुको संस्था भोजपुर हातेमालो सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ ।

पहिरोमा परी ट्याम्के मैयुङ गाउँपालिका वडा नं ९ लेर्खक ओइराङका १४ वर्षीय जनक विक ,रामप्रसाद राई गाउँपालिका वडा नं ७ बासीखोराका ६६ वर्षीया जगत बहादुर राई र रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभज्याङका एकै परिवारका आमा ३५ बर्षिया मन कुमारी राई, १७ वर्षीय छोरा शिव कुमार राई, १५ वर्षीय छोरा शक्ति कुमार राईको ज्यान गएको थियो ।

समाजले पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहयोगका लागि १ लाख ४ हजार सात सय ३३ रुपैया संकलन गरेको समाजका अध्यक्ष भीम थापाले जानकारी दिए । समाजले जनकको परिवारलाई २५ हजार ९ सय ७९ रुपैया, जगतको परिवारलाई २५ हजार ९ सय ७९ रुपैया र मन कुमारीको परिवारलाई ५२ हजार ७ सय ७५ दिएको छ भने यसै परिवारलाई साउदी अरबबाट सुदिप बस्नेतले थप १५ हजार ४ सय ५५ रुपैया सहयोग गरेको समाजका बरिष्ट उपाध्याक्ष छिरिङ शेर्पाले बताए ।

रामप्रसाद राई गाउँपालिकाका दुई मृतक परिवारलाई गाउँपालिका अध्यक्ष विजय राई र ट्याम्के मैयुङ गाउँपालिकाको मृतक परिवारलाई गाउँपालिका अध्यक्ष ध्रुवराज राई मार्फत आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button