२०७८ साल कार्तिक ५ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

आज हरितालिका तीजको अघिल्लो दिन : दर खाएर मनाइदै

दिनेश घिमिरे २०७६ भदौ १५ गते ८:५५

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज आजबाट विधिवधरुपमा सुरु भएको छ ।
आज अर्थात हरितालिका तीजको अघिल्लो दिन हिन्दू नारीहरुले विभिन्न मिष्ठान्न परिकारका साथ दर खाएर तीज पर्व मनाइँदैछ ।

दरखाने दिनमा तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खुवाउने चलन छ ।

भोली बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुघ्द्ध निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् ।

दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ ।

खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन् ।

किन खाने दर ?

भोलीपल्ट निराहार ब्रतबस्ने प्रचलन भएकाले शरीरमा पोषणको मात्रा कमी नहोस् भनेर दर खाईन्छ । पहिले पहिले गाउँघरमा महिलाहरूले सामान्य खानेकुरा मात्र खान पाउँथे, जसले गर्दा उनीहरूलाई पर्याप्त पौष्टिक आहार पुग्दैन थियो।

शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको मानिन्छ । त्यसैले व्रत बस्ने अघिल्लो दिन दूध, घिउबाट बनेको चोखो र आडिलो खानेकुरा खानुपर्छ।

तर हिजोआज दरको रूपमा माछा मासुलगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ। तीजमा व्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर व्रत बस्नु शुद्ध मानिँदैन।
हिजोआज ठाउँअनुसार तीजको दिन शारीरिक परिश्रम गर्ने चलन घटेको छ। त्यसैले प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई थप असर गर्ने कुरामा समेत ख्याल गर्नुपर्छ। तर पतिलाई राम्रो होस्, राम्रो पति पाउन भन्दै आफ्नो शरीर र मनलाई अप्ठ्यारोमा पारेर पानी पनि नखाई व्रत बस्नु राम्रो होइन। शरीरको अवस्थाअनुसार पानी, फलफूल, जुस, दूध र दही खाएर व्रत बस्न सकिन्छ।

यसैबीच , स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गर्नुभएको छ । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

 

 

 

सम्बन्धित