तपाईँ सुन्दै हुनुहुन्छः

तीजः सामाजिक रुपान्तरणको सन्देश दिँदै

चिप्लेढुङ्गा । हिन्दू महिलाको महान् पर्व तीजले यतिबेला शहर बजारको वातावरणमा रौनक ल्याएको छ ।तीजका गीत र रातो सारीमा सजिएका महिलाको वातावरणले भदौलाई थप आकर्षित गराएको पाइन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव पति पाउन निराहार व्रत बसेर वरदान पाएको दिन भाद्र शुक्ल तृतीया थियो । महिला स्वतन्त्रताका रुपमा पार्वतीले आफ्नो इच्छा विपरीत हुन लागेको बिहेलाई अस्वीकार गरी आफ्नो इच्छाएको व्यक्तिसँग बिहे गरेको त्यो कामलाई आज महिला स्वतन्त्रता र स्वनिर्णयको रुपमा लिने गरेको पाइन्छ ।

समय बदलियो, सोच बदलियो, सँगै प्रविधिको विकासले धेरै कुरामा परिवर्तन आएको छ । यसको प्रभाव हाम्रो धर्म, संस्कार र संस्कृतिमा पनि परेको देखिन्छ । तीजको आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक जुन महत्व छ त्यसको मौलिकता आजको समयमा खोज्दा पाउन सक्ने अवस्था पक्कै रहँदैन ।

परिवर्तित समयसँगै तीजको नाममा भएको विकृति र विसङ्गति हटाउँदै पर्वलाई रचनात्मक, सिर्जनात्मक रुपमा महिला सशक्तीकरणका पक्षबाट जोड्दै शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणको सन्देश बोकेर भने मनाउन थालिएको छ ।

महिलाद्वारा सञ्चालित र महिला मात्रै कार्यरत पोखराको ‘रेडियो जननी’ले तीज विशेष कार्यक्रमलाई विगत वर्षमा झैँ यस वर्ष पनि महिला हिंसाविरुद्ध र पर्यटन लक्षित सन्देशलाई प्राथमिकता दिएर कार्यक्रम आयोजना ग¥यो । “तीजलाई खानेलाउनेको बहस, रोनाधोना गीतसँग होइन अब सशक्त आवाजको रुपमा जोड्नुपर्छ”, रेडियो जननीका अध्यक्ष मिलन थापाले भने, “हामीले विगत वर्षदेखि नै तीज विशेष कार्यक्रम गर्दै आएका छौँ । तीज मेलादेखि उद्यमशीलता र सशक्तीकरणलाई नै हामीले जोड दिएका छाँै ।” उद्यमशीलता, स्वतन्त्रता र समानता नै रेडियोको मूल मर्म भएकाले रेडियोले तीज विशेष कार्यक्रम सामाजिक रुपान्तरणको सन्देशमा केन्द्रित हुँदै सञ्चालन हुने गरेको उनको भनाइ छ ।

पोखराको सञ्चार बचत तथा ऋण सहकारी संस्थाले तीजलाई लक्ष्य गरी आफ्ना शेयर सदस्य महिलालाई तीज विशेष कोसेली प्रदान गरेर शेयर सदस्य महिलामा एकार्काबीच परिचित गराउने र आत्मीय सम्बन्ध मजबुत गराउने अवसर सिर्जना ग¥यो । पोखराको सामाजिक क्षेत्रमा क्रियाशील खहरे आमा समूहले ७० वर्षमाथिका आमाको सम्मान गरेर पर्वको महत्वलाई सामाजिक क्षेत्रसँग जोड्ने प्रयास गरेको थियो ।

त्यस्तै बागलुङ पोखरा सम्पर्क समाजले पोखराको कर्म क्षेत्रमा रहेर आफ्नो पहिचान बनाउन सफल बागलुङे चेलीको खोजी गरेर सम्मान ग¥यो । यस कार्यले पनि महिलालाई थप हौसला र प्रेरणा मिल्यो भने आफ्नो गाउँठाउँका चेलीबेटीको योगदान र जिम्मेवारीलाई अरुमाझ चिनाउन सफल भयो ।

अधिकांश सङ्संस्थाले संस्थागत रुपमा खानेनाच्ने गरे पनि तीजको अवसरमा केही न केही सामाजिक क्षेत्रसँग जोडेर मनाएको पाइन्छ । बालाश्रम, वृद्धाश्रम, अस्पताल, कारागार र महिला सुरक्षा गृह पुगेर पनि दर खुवाउने, खाद्यान्न, लत्ता कपडा वितरण गरेको पाइन्छ । पोखराकै मितेरी आमा समूहले फोहोरको थुप्रोमा भविष्य खोज्दै गरेकी सुुविनालाई रु दुई लाखको अक्षयकोष राखेर पढाउने जिम्मा लियो । अधिकांश महिला समूह महिला अधिकार, कानूनी सचेतना र सकारात्मक सोचको तालीम लिएर पर्वसँग रमाएको देख्न सकिन्छ ।

यी गतिविधि हेर्दा पछिल्लो समय तीज सामाजिक क्षेत्रसँग जोड्दै एउटा सकारात्मक सन्देश प्रवाह गर्ने पर्व बन्दै गएको देखिन्छ । तीज टाढाटाढाका दिदीबहिनी, आफन्त, इष्टमित्र र साथीभाइलाई एकै ठाउँमा जम्मा हुने जमघटको पर्व पनि बनेको छ । साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्, ‘तीजको महत्व र महिमा अथाह छ । शिव र पार्वतीको अर्धनारीश्वर स्वरुपको कथाबाट के पुष्टि हुन्छ भने एउटा मानिसभित्र महिला र पुरुष दुवैको स्वरुप हुन्छ । यो कुरा पार्वतीले त्यतिबेलै स्थापित गरिन् तर हामीले विभाजन गरेर हेर्न थाल्यौँ । पतिको आयुसँग जोड्दै निराहार व्रत बस्न थाल्यौँ ।’

‘कालान्तरमा फेरि अनेक टीकाटिप्पणी गर्न थाल्यौँ, शिवपार्वतीको सुमधुर सम्बन्धलाई एकतर्फी व्याख्यामा अल्झी संस्कृति भत्काएर विकृतिउन्मुख बनायौँ । तीजको धार्मिक र सांस्कृतिक महत्व र महिमाको पक्षलाई केलाउनतिर लागेनाँै । बाटो बिरायाँै । अब आजका शिक्षित नारीले संस्कृति भत्काएर होइन यसको धार्मिक –सांस्कृतिक महत्वलाई उजागर गरेर एउटा महिला सशक्तीकरण र स्वतन्त्रताको उत्सवमय पर्व बनाउन सक्नुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button