तपाईँ सुन्दै हुनुहुन्छः

अनुमतिबिना सिसी क्यामरा जडान

बाँके-नेपालगञ्जलगायतका क्षेत्रमा ३०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश सिसी क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेका पाइएको छ । सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका यस्ता सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण नै छैन । नेपालगञ्जको सुर्खेतरोडमा मात्रै ५६ वटा सिसी टिभी क्यामरा जडान गरिएका छन् ।

यीमध्ये अधिकांश सिसी क्यामरा कानूनविपरीत अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लगे पनि त्यसपछि नविकरण गरेका छैनन् । जिल्लामा ४० संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन् । सडकमा मात्रै नभई नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेका सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगञ्जमा रहेका ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टी होटलमै जडान गरिएका सिसी क्यामरा गैरकानूनी तथा मापदण्डविपरीत देखिएका छन् । ति होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताउनुभयो । उहाँकाअनुसार नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन् ।

नेपालमै नाम चलेका सोल्टी, होटल सिद्धार्थ भ्यूका साथै होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट, स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामरा जडान भएको पाइएको छ । सहायक प्रजिअ अर्यालका अनुसार नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको लगानीमा सञ्चालनमा रहेको होटल स्नेहाले समेत सिसी क्यामरा जडानको अनुमति नलिनु आश्चार्यजनक भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button