तपाईँ सुन्दै हुनुहुन्छः

मुक्तिनाथमा बढ्दै लगानी

मुक्तिनाथ-झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो ।

उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गरेका जानकारी दिँदै उहाँले त्यस समयमा होटेलको सुविधा नभएको सुनाउनुभयो । चार दशक अघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो । समय बदलिइसकेको छ । अहिले मुक्तिनाथको दर्शन गर्न जाने पर्यटकले आफ्नो आयस्तर एवं होटेलको सुविधाअनुसार सस्तादेखि महँगा होटेलमा बस्न पाउँछन् । रानीपौवा आफ्नै महत्व एवं ऐतिहासिकता बोकेको ठाउँ हो ।

तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएको थियो । सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएछ । सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिदिनुभयो ।

तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्रम, रानीपौवाका कर्मचारी हरिकृष्ण आचार्यले जानकारी दिनुभयो । त्यसै बेलादेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो । धर्मशाला निर्माणसँगै तत्कालीन समयदेखि नै तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको उहाँले बताउनुभयो ।

रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवं आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले विस्तारै व्यावसायिक रुप लियो । तत्कालीन समयमा रानीपौवामा बसोबास थिएन । त्यहाँबाट केही तल पुराङ गाउँमा मानिस बस्दथे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी विस्तारै रानीपौवातिरै उकालो लागे ।

अन्ततः उक्त धर्मशालाकै कारण रानीपौवा बजारमा परिणत भयो । पहिलाका कुरा सुन्दा र अहिलेको अवस्था हेर्दा पत्याउनै सकिन्न । धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटेलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको छ । मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवाको २०० वर्षभन्दा बढीको इतिहास रहेको स्थानीय समाजसेवी एवं होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button