तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयमा डिजिटल प्रविधिबाट अध्यापन

इलाम । देउमाई नगरपालिकाको जीतपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने गर्छ ।

यति मात्र होइन, ल्यापटपमा तयारी गरिएको पाठयोजनालाई प्रोजेक्टरमा जोडेर मल्टिमिडियाबाट पढाउने काम हुन्छ । शिक्षकले पाठ्यपुस्तकमा भएको मात्र पढाउनेभन्दा पनि बाहिरका कुरा समेत समेटेर प्रस्तुति दिँदा यसप्रति विद्यार्थीको अध्ययनप्रति चासो बढेको देखिन्छ । नयाँ प्रविधिमा विद्यालय गएसँगै विद्यार्थीले समेत धेरै कुरा देखेकै भर जान्ने हुन्छ र धेरै कुरा पढाइरहन पर्दैन । जिल्लाका नमूना विद्यालयमध्येको एक यस विद्यालयमा शिक्षकलाई मात्र नभई विद्यार्थीलाई समेत सहज रुपमा अध्ययनमा लाग्न कक्षामा भएका कम्प्युटर सहयोगी बनेको छ ।

“हामी शिक्षकले पाठ्यपुस्तकको मात्र पढाउनु पर्ने बाध्यता छैन किनकि इन्टरनेटमा थप कुरा खोजेर पनि सिकाउन सकिन्छ,” विद्यालयका प्रधानाध्यापक गोविन्द बरालले भन्नुभयो – “कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट पढाउँदा विद्यार्थीलाई पनि पढे जस्तो अनुभव हुँदैन । त्यसैले सिक्न धेरै सहज हुन्छ ।”

विसं २०६३ मा चिनिया राजदूतावासले चार वटा कम्प्युटर दिएपछि दुःखले नयाँ प्रविधिबाट पढाइ शुरु गरिएको यस विद्यालयमा अहिले २१ वटा ल्यापटप त शिक्षकलाई घरघर लग्न दिने गरिएको छ । शिक्षकलाई घरमै भोलिपल्ट पढाउने विषयका बारेमा तयारी गर्न ल्यापटप दिइएको हो । “शुरुआती वर्ष भएकाले पनि तयारी गर्न शिक्षकलाई गा¥हो हुन्छ, घरघरमा ल्यापटप लग्न दिए शिक्षकले घरमै तयारी गर्नसक्ने भएकाले उहाँहरुलाई दिएका हौँ,” प्रधानाध्यापक बरालले भन्नुभयो – “अबको आउँदो शैक्षिक सत्रमा चाहीँ सबै कक्षा कक्षामा मल्टिमिडियाबाट पढाउने गरी तयारी गरिरहेका छौँ ।”

यति मात्र नभई लामो समयदेखि शिक्षण पेशामा रहनुभएका र कम्युटरसम्बन्धी ज्ञान नभएका शिक्षकका लागि भने डिजिटल प्रविधि सिक्न तालीम समेत दिइँदै आइएको छ । सबै शिक्षकलाई समान ज्ञान दिलाउन र प्रविधिमा दक्ष बनाउन विद्यालयले गएको मङ्सिरदेखि अस्ति असारसम्म प्रशिक्षण समेत दिएको थियो ।

यस विद्यालयमा दुई दर्जनभन्दा बढी कम्प्युटर र ल्यापटप अहिले अध्ययन गराउनकै लागि प्रयोग गर्ने गरिएको छ भने विद्यालयका कक्षा कक्षामा सिसी क्यामरा समेत राखिएका छन् । यसले गर्दा शिक्षकले आफ्नो कक्षा समय पढाउँदै गरेको छ वा छैन वा विद्यार्थीले पढेको छ वा छैन भन्ने बारेमा समेत थाहा पाउन सहज भएको छ । “हामीले विद्यार्थीका कक्षाका साथै स्टाफ रुममा समेत सिसी क्यामरा जोडेका छौं, शिक्षकले पनि आफ्नो पिरियडमा पढाएको/नपढाएको जान्न एकदम सहज भएको छ,” बरालले भन्नुभयो । विद्यालयमा अहिले विद्युतीय हाजिरी संयन्त्रसमेत जोडिएको छ ।

सदरमुकामकै आदर्श माध्यमिक विद्यालय विसं २००४ सालमा स्थापना भएको हो । पुरानो विद्यालय भए पनि आदर्श प्रदेश नं १ कै पहिलो डिजिटल प्रविधिमा गएको विद्यालय हो । यस विद्यालयमा डिजिटल माध्यमबाट पढाउन भन्दै केन्द्रीय सरकारबाटै कार्यक्रम आएपछि विद्यालयले भर्खरैदेखि यो प्रविधि अपनाउन शुरु गरेको हो ।

विद्यालयका १२ वटा कक्षामा स्मार्ट बोर्ड राखिएको छ भने विद्यार्थीलाई पढ्न सहज पारिदिन विद्यालयले नै ई–लाइब्रेरीलाई प्रयोगमा ल्याएको छ । विद्यालयमा इन्टरनेटको समेत व्यवस्था छ । कक्षा १ देखि ५ सम्म नेपालीका अतिरिक्त अंग्रेजी माध्यमबाट समेत पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button