एनसेल मुद्दामा जनचासो बढेपछि संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं ।प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले एकै विषय र मुद्दामा अदालतबाट फरक–फरक फैसला आएको भन्दै फैसला अध्ययन गर्ने भएको छ । समितिको आज बसेको बैठकमा सांसदहरुले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको कर निर्धारण सम्बन्धी एकै विषय र मुद्दामा अदालतले फरक–फरक फैसला गरेको र गलत नजिर बस्नेप्रति सचेत हुनुपर्ने विषय उठाउनु भएको थियो । सभापति कृष्णभक्त पोख्रेलले एकै विषय र मुद्दामा अदालतबाट आएका फरक–फरक फैसलाबारे सदस्यहरुले विषय उठाउनुभउकाले आगामी बैठकमा गंभीरतापूर्वक छलफल गरिने जानकारी दिनुभयो ।
बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेलको कर निर्धारणसम्बन्धि मुद्दामा अदालतले गरेको फैसलाले कार्यक्षेत्रमाथि प्रश्न उठाएको र एउटै मुद्दा र विषयमा फरक–फरक फैसला भएकोप्रति समितिमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । छलफलमा सदस्य देव गुरुङले अदालतको आदेश सबैले मान्नुपर्ने भएपनि एकै विषय र मुद्दामा ३÷४ पटकसम्म फरक–फरक फैसला आउनुले कस्तो नजीर बसाल्छ ? भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो ।
सदस्यलक्ष्मणलाल कर्णले अदालतको सकारात्मक आलोचना गर्न र अदालतको फैसला उपर छलफल कहिँबाट बाँधा नपुग्ने बताउनुभयो । बैठकले राष्ट्रियसभाबाट प्रतिवेदनसहित प्राप्त ‘प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक’मा समेत समान्य छलफल गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्