तपाईँ सुन्दै हुनुहुन्छः

मोरङको आकाशमा देखिएको सेतो डल्लो के हो ?

बिहीबार मोरङ र सुनसरीबाट आकाशमा दिउँसै ताराजस्तो दृश्य देखिएको छ । आकाशमा हेर्दा उत्तर दिशातर्फ सजिलै देख्न सकिने त्यो दृश्य दिउँसो ३ बजेदेखि नै देखिएको हो ।

पहिला यस्तो बस्तु मोरङको सुनवर्शी तथा रंगेलीका स्थानीयले देखेर फोटोहरु सार्वजनिक गरेका थिए । सुनवर्शी नगरपालिकाकी उपमेयर मञ्जुकुमारी राईले सीएफएल बल्बजस्तो चम्किलो बस्तु आकाशमा देखिएको उज्यालोसँगको कुराकानीमा बताउनुभयो । आकाशमा टलक्क टल्किएको बस्तु देखिएपछि सबैले अचम्म मान्दै तस्बिर खिचेको उहाँले बताउनुभयो ।

यसबारेमा नेपाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) का अध्यक्ष तथा अन्तरिक्ष तथा खगोल विज्ञानका ज्ञाता सुरेश भट्टराईसँग बुझ्दा उहाँले यो कुनै अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट भएको हुन सक्ने बताउनुभयो ।

उहाँका अनुसार यो अमेरिकाले छाडेको अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ हुन सक्ने प्रबल सम्भावना रहेको छ । मोरङ र सुनसरीका केही ठाउँबाट मात्रै देखिएका कारण यो स्याटेलाइट नै हुन सक्ने उहाँले बताउनुभयो ।

अन्य ग्रह तथा आकाशीय पिण्ड भएको भए अरु ठाउँबाट पनि देखिनु पर्ने उहाँले बताउनुभयो । यदि अमेरिकी अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ भएको खण्डमा त्यतिको चम्किलो देखिनु भने अचम्मको कुरा भएको भट्टराई बताउनुहुन्छ । यस प्रकारको स्याटेलाइट अत्यन्तै सानो भएको हुनाले चम्किलो देखिनु भने अचम्मको कुरा भएको उहाँ बताउनुहुन्छ । यस्तो स्याटेलाइट थ्री युनिट स्याटेलाइट हुन् भने यसको आकार ३० सेन्टीमिटर बाई १० सेन्टीमिटरका हुन्छन् ।

नासोका अध्यक्ष भट्टराईका अनुसार यस्ता स्याटेलाइट पृथ्वीको सहतभन्दा ४०० देखि ५०० किलोमिटरसम्मको उचाइमा रहन्छन् । यस प्रकारका स्याटेलाइटले पृथ्वीको कक्षमा एक चक्कर लगाउन ९४ मिनेट लगाउँछन् ।

प्रारम्भिक अध्ययन गर्दा अमेरिकी स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ नै हुन सक्ने भए पनि पूरा यकिनका साथ भन्न त्यसको सही ‘डिरेक्सन’ थाहा हुनु पर्ने भट्टराई बताउनुहुन्छ ।

मोरङबाट दिएको जानकारीअनुसार यो स्याटेलाइट उत्तर पश्चिम र पश्चिमको बीचतिरबाट निस्केर दक्षिण र दक्षिण पूर्व गएर हराएको हुन सक्ने उहाँले बताउनुभयो । दक्षिण पश्चिम क्षेत्रमा आइपुग्दा सबैभन्दा चम्किलो भएको हुन सक्ने उहाँले बताउनुभयो ।

मोरङ र सुनसरीका सर्वसाधारण भने यो दृश्यबाट अचम्मित भएका छन् । कतिपय सर्वसाधारणले यसलाई स्याटेलाइट भनेका छन् भने कतिपले यसलाई फरक नाम दिएका छन् । तर त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button