तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली फुटबल टिमलाई बिदाई

काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको छ । बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए ।

यता, प्रशिक्षक योहान कालिनले तयारी राम्रो भएको बताउँदै त्यसै अनुसारको नतिजा निकाल्ने दाबी गरे । उनले भने, ‘हामिले लामो समय अभ्यास गरेका छौं । यो अवधिमा राम्रो तयारी भएको छ । हामीले हाम्रो कमी–कमजोरीलाई सुधारेका छौं । कुवेतसँग केही महिनाअघि मैत्रीपूर्ण खेल खेलेका छौं । त्यसले पनि ऊर्जा थपेको छ ।’

बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले खेलाडीलाई राष्ट्रका लागि जितेर आउन शुभकामना दिए । त्यस्तै, एन्फा अध्यक्ष शेर्पाले नेपालले कुवेतलाई पराजित गरे उचित पुरस्कार राशि खेलाडीलाई दिइने बताए । उनले भने, ‘हामी ऐतिहासिक दिनमा छौं । तपाईंंहरूले राम्रो नतिजा ल्याउनु हुन्छ भन्नेमा विश्वस्त छु । सबैले राम्रो खेलेर आउनु होला । कुवेतलाई जितेमा हामी पुरस्कारको घोषणा गर्नेछौं ।’

नेपाली फुटबल टिम

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

योपटक नियमित कप्तान विराज महर्जन भने टिममा छैनन् । उनी फिटनेसकै कारणले टिम बाहिर रहेको हो या अरू कारण छन् ? भन्ने प्रश्नमा मुख्य प्रशिक्षक कालिनले भने, ‘विराज निकै राम्रा खेलाडी हुन् । तर योपटक उनलाई टिममा राख्न सकिएन । नयाँ खेलाडी निकै राम्रा छन् ।’

नेपाली फुटबल टिम आइतबार कुवेत प्रस्थान गर्ने छ । मुख्य प्रशिक्षक कालिनले बिहीबार २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button