राजधानीमा भुस्याहा कुकुरको आतंक बढ्यो
काठमाडौं-पछिल्लो समय राजधानीमा छाडा कुकुरको आतंक बढ्दै गएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै दैनिक १ सय ५० भन्दा बढी कुकुरको टोकाईबाट पीडित भएका आउने गरेका छन् । कुकुरको टोकाईबाट रेबिज रोग लाग्ने भएकाले पनि कुकुरको आक्रमणमा पर्ने बिरामी थप चिन्तित देखिन्छन् ।
राजधानीमा ४५ हजार भुस्याहा कुकुर
पछिल्लो समय, काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको संख्या बढ्दै गएको छ । भुस्याहा कुकुर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलका अनुसार, राजधानीमा अहिले करिब ४५ हजार भुस्याहा कुकुर छन् । काठमाडौं महानगरले बाटामा हिड्ने भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान चलाएपनि कुकुरको संख्या र कुकुरले मानिसमा गर्ने आक्रमण घटेको छैन । तर पनि महानगरका प्रवक्ता डंगोल भने कुकुरको व्यवस्थापनका लागि विशेष योजना चलाइरहेको दाबी गर्नुहुन्छ ।
रेविजका नाममा आर्थिक वर्ष २०७४/७५ १४ करोड स्वाहा
तथ्यांक अनुसार, आर्थिक वर्ष २०७४/७५ मा २ लाख ८१ हजार ७ सय १८ वटा रेविज विरुद्धको खोप प्रयोग भएको छ । सरकारले हरेक वर्ष रेविजविरुद्धको सुई र सचेतनाको कार्यक्रमका लागि १४ करोड रकम खर्च गर्दै आएको छ । तर, रेविज रोगका कारण मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।
रेबिजका कारण वर्षेनी सयौं मानिसले ज्यान गुमाउने गरेको भन्दै कुकुरको टोकाईबाट लाग्ने रेबिज रोग नियन्त्रण गर्न कुकुरको सहज व्यवस्थापन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.शेरबहादुर पुनका अनुसार, रेबिजको जीवाणू भएको कुकुरले मानिसलाई टोकेमा त्यो रोग मानिसमा सर्छ । रेविज लागेमा मानिसको ज्यानै जाने जोखिम हुन्छ । त्यसैले सकेसम्म छिटो कुकुरले टोक्नासाथ रेविज विरुद्धको खोप लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
देशभरकै समस्याको रुपमा रहेको कुकुरको टोकाइबाट बढ्ने संक्रमण नियन्त्रणका लागि सबै जुट्न आवश्यक छ । त्यसका लागि कुकुर पाल्ने मानिस र कुकुरको नजिक पुग्ने व्यक्तिले पनि सचेतना अपनाउन जरुरी छ ।
प्रतिक्रिया राख्नुहोस्