तपाईँ सुन्दै हुनुहुन्छः

रोजिन निर्यात घट्यो

बाँके-रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक बताउँछन् । खर्च धान्नै मुस्किल भएपछि जिल्लामा पहिलो पटक २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताउनुभयो ।

एक हजार ५०० मेट्रिक टन रोजिन उत्पादन क्षमता रहेको उद्योगमा तीन सय बढि कामदार कार्यरत छन् । बचेको पुरानो कच्चा पदार्थको काम सकेपछि उद्योग पूर्णरुपमा बन्द गर्ने बताउँदै सञ्चालक खनालले उद्योग बन्द भएपछि कार्यरत कर्मचारीलाई बिदाइ गरिएको पत्र श्रम कार्यालयमा पठाइने बताउनुभयो । बाँकेमा खनालबाहेक, बङ्गलामुखी, मनकामना, गङ्गा, लक्ष्मी रोजिन उद्योग सञ्चालनमा छन् ।

लक्ष्मी धेरै पहिले बन्द भएर अरुले नै खरीद गरी सञ्चालनमा ल्याएका थिए । यी उद्योगमा झण्डै रु एक अर्ब लगानी रहेको छ । एउटा उद्योगमा न्यूनतम रु पाँच करोडदेखि अधिकतम रु २५ करोडसम्म लगानी भएको छ । हाल सञ्चालनमा रहेका सबै उद्योग करीब बन्द अवस्थामा रहेका खनालले जानकारी दिनुभयो ।

रोजिन एण्ड टर्पेन्टाइन नेपालगञ्ज भञ्सार नाकाबाट निर्यात हुने प्रमुख वस्तुमा पर्छ । उद्योग बन्द हुने परिस्थिति बन्नुमा रोजिनप्रति स्वदेशमा अस्पष्ट नीति र रोजिनको प्रमुख बजार भारतमा तथा यसको मूल्य घट्नु हो । विभिन्न औषधि बनाउन प्रयोग हुने भएकाले भारतमा रोजिनको माग धेरै छ । तीन तहका सरकारलाई वितरण गर्ने गरी कच्चा पदार्थको रोयल्टी बुझाउनुपर्दा महँगो हुन गएको उद्योगी बताउँछन् ।

सरकारले सहुलियत नदिएपछि उद्योगमा ताल्चा लगाउनुपर्ने बाध्यता आएको उद्योगीको भनाइ छ । तीन वर्षअघि प्रतिकिलो रु ७२ सम्ममा बिक्री भइरहेको रोजिनको मूल्य त्यसयता रु ६० मा झरेको छ । उक्त मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने उद्योगीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button