तपाईँ सुन्दै हुनुहुन्छः

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

रोल्पा-गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशङ्का गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाल्नुभयो ।

सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले । निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुग्नुभयो । रोल्पा नगरपालिका–९ ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन । विवाह गरेको एक वर्षमा जेठो र अर्को एक वर्षपछि कान्छो छोरा जन्मिए । दुई छोरा जन्माउँदा उहाँको उमेर १८ वर्षमात्रै भएको थियो ।

अहिले उहाँको उमेर २० वर्ष भयो । यतिबेला उहाँसँग न छोरा छन् न त श्रीमान् नै । श्रीमान्ले दिनहुँ कुटपिट गर्र्ने र खान लाउनसमेत नदिएपछि सम्बन्ध टाढिँदै गयो । परिवारिक अवस्था राम्रो नहँुदा दुई छोरालाई राम्रोसँग रेखदेख पुग्न सकेन । फलतः तीन वर्ष पूरा भएका जेठो छोरा गौरवको मृत्यु भयो । उहाँ अहिले सदरमुकाम लिवाङमा एकल जीवन बिताउँदै मजदूरी गरेर जीविका चलाइरहनुभएको छ ।

जिल्लामा सम्बन्धविच्छेदका प्रतिनिधि घटना हुन् यी । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये ५३ प्रतिशत बढी मुद्दा सम्बन्धविच्छेदका थिए । गत आर्थिक वर्ष अदालतमा ३९९ मुद्दा दर्ता भएका थिए । त्यसरी दर्ता भएका मुद्दामध्ये झण्डै आधाभन्दा बढीअर्थात् २१७ मुद्दा सम्बन्धविच्छेदका थिए । सम्बन्धविच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन सङ्ख्या योभन्दा अझ धेरै हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा १६ वर्षीय किशोरकिशोरीदेखि ७१ वर्षीय वृद्धवृद्धाले समेत सम्बन्धविच्छेद गरिरहेका छन् । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्धविच्छेदको मात्रा दिनानुदिन वृद्धि हुँदै गएको देखिन्छ ।

अदालतमा आर्थिक वर्ष २०७२÷०७३ मा १२४ मुद्दा मात्रै सम्बन्धविच्छेदका दर्ता भएका थिए । आव २०७४÷०७५ यो सङ्ख्या बढेर दोब्बर पुगेको थियो । उक्त आव २२७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आवमा २१७ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको अदालतको अभिलेखमा उल्लेख छ । यसरी दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदासमेत खोज खबर नगरेकाजस्ता आरोपसहितका मुद्दा पर्ने गरेको अदालतका श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा श्रीमान् विदेश रहेका महिलाले दिने गरेका बताइएको छ ।

लामो समयसम्म श्रीमान् घर नआउँदा श्रीमतीले अर्कैसँग सम्बन्ध राख्दा यस्तो समस्या देखिने गरेको बताइन्छ । देखा सिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले पनि सम्बन्धविच्छेदको घटना बढेको हुनसक्छ रोल्पा जिल्ला अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले बताउनुभयो । उमेर नपुग्दै आदर्श जीवनको परिकल्पनासँगै अपरिपक्व निर्णयले बालविवाह गर्ने उमेर छिपिएसँगैको परिपक्वताले सम्बन्धविच्छेद गर्ने गरेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण लामो समयसम्म श्रीमान् श्रीमतीको भेटघाट नहुनु, चेनताको अभाव, अशिक्षा र गरीबीले जिल्लामा सम्बन्धविच्छेदलाई मलजल गरिरहेको आचार्यले बताउनुभयो । न्यायालय वा कानून व्यवसायीसमक्ष आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले उनीहरु सहयोगीका साथ उजुरी गर्न आउने गरेका बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button