तपाईँ सुन्दै हुनुहुन्छः

‘समस्या समाधानका लागि भारतसँग निरन्तर छलफल’

अच्युत अर्याल । गृहमन्त्री रामबहादुर थापाले भारतीय पक्षले सीमा क्षेत्रमा निर्माण गरेको उच्च बाँधका कारण नेपालको तराई क्षेत्रमा परेको डुबान एवं अन्य समस्याहरू समाधानका लागि भारत सरकारसँग निरन्तर छलफल भईरहेको बताउनुभएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको आजको बैठकमा समितिले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोप प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमाथि भएको छलफलमा गृहमन्त्री थापाले भारतीय पक्षले सीमा क्षेत्रमा निर्माण गरेका बाँधका कारण उत्पन्न समस्याको स्थायी समाधानका लागि सरकारले पहल गरिरहेको बताउनुभयो ।

सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफमा गृहमन्त्री थापाले पटक–पटकको छलफलका क्रममा भारतीय पक्षबाट समस्या समाधान गर्न सकारात्मक रहेको जनाए पनि त्यसलाई कार्यान्वयन गर्न तदारूकता नदेखाएका कारण समस्या समाधानमा ढिला भईरहेको जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्री थापाले गएको असार ५ गतेबाट सुरू भएको मनसुनी वर्ष र त्यस पछिका बाढी, पहिरो र ढुवानमा परी १ सय ३३ जनाले ज्यान गुमाएको ३७ जना हराई रहेको र १ सय ६ जना घाईते भएको बताउनुभयोे ।

उहाँले बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पुगेको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी पहिलो चरणको राहत समेत वितरण भईसकेको समितिलाई जानकारी दिनुभयो ।

बैठकमा सांसद भिम रावलले भारतले पानीको प्राकृतिक बहावलाई प्रभावित गर्ने गरी सीमावर्ती क्षेत्रमा सडक निर्माण गर्दा नेपालको तराईका विभिन्न भूभागहरू डुबानमा परेको उल्लेख गर्नुहुँदै त्यसको समाधानका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद डा. मिनेन्द्र रिजालले सरकारले तयार पारेको क्षतिको विवरण अपूर्ण रहेको बताउनुहुँदै त्यसलाई सच्चाएर बाढी पहिरो तथा डुबानबाट पीडित सबैलाई यथोचित राहत तथा क्षतिपूर्ति दिन माग गर्नुभयो ।

सांसदहरू गणेश सिंह ठगुन्ना, लक्ष्मी परियार, खेमप्रसाद लोहनी लगायतले सडक, पुल, लगायतका विकास निर्माणका योजनाहरू तयार गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button