तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश, कांग्रेसद्वारा विरोधको सूचना फिर्ता

काठमाण्डौ । राष्ट्रियसभामा नेपाल मिडिया काउन्सिल विधेयक २०७५ पेश भएको छ । राष्ट्रिय सभाको विहिबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल मिडिया काउन्सिल विधेयक पेश गर्नुभएको हो । विधेयकलाई समृद्ध बनाउन सदनमा प्राप्त हुने सुझावहरुलाई ग्रहण गरिने प्रष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले समाजप्रति प्रेसको पनि दायित्व हुने भएकोले त्यसलाई कायम राख्ने गरी अगाडि बढ्नु पर्ने मान्यता सरकारको रहेको बताउनुभयो ।
त्यसअघि बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिनुभएको सांसहरुका तर्फबाट सांसद राधेश्याम अधिकारीले मिडिया काउन्सिल विधेयकलाई परिमार्जन गर्न सरकार सहमत भएका कारण विरोधको सूचना फिर्ता लिएको बताउनुभयो ।
मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा दर्ता भएपछि त्यसका दण्ड जरिवाना र काउन्सिल गठनसम्बन्धी सिफारिश समितिको प्रस्तावित संरचनाको केही सरोकारवालाले विरोध जनाएका थिए । विधेयकमा राजनीतिक दलहरुको सहमति जुटाएर संशोधन प्रस्तावमार्फत् परिमार्जन गर्न दलहरु सहमत भएपछि यो विधेयक अघि बढाईएको हो ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गरुङले शिक्षा सम्वन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ सम्वन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त वन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका तर्फबाट कानून मन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट संदेशसहित प्राप्त भूमि सम्बन्धी आठौं संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button