२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

द्रुतमार्ग निर्माणको कार्य साँढे तीन ३ वर्षभित्र पुरा हुने

रेडियो नेपाल २०७६ भदौ ११ गते १६:०८

अच्युत अर्याल । काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणको कार्य अबको साँढे तीन ३ वर्षभित्र पुरा हुने नेपाली सेनाले जनाएको छ ।

सरकारले यही भदौ १ गते स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डी पी आर) र आयोजनाको प्रगतिकाबारेमा जानकारी दिन सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा डिपिआर, जनशक्ति र बजेटको सुनिश्चितता भइसकेकाले आयोजना तीव्रताका साथ अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले द्रुतमार्गको अनुमानित निर्माण लागत मूल्य अभिवृद्धिकरसहित १ खर्ब ७५ अर्ब १९ करोड रहेको जानकारी दिनुभयो ।

आयोजना प्रमुख श्रेष्ठले विशेष प्रकृतिका पुल, ३ ओटा सुरुङलगायत द्रुत मार्गका सबै काम एकैसाथ अघि बढाइने भएकाले आगामी साँढे तीन वर्ष भित्रमा सबै काम सम्पन्न हुने बताउनुभयो ।

कूल लम्बाइ ७२ दशमलव ५ किमि हुने दु्रतमार्गमा ६ दशमलव ४ किलोमिटरका तीन वटा सुरुङ, १० दशमलव ५९ किलोमिटरका ८७ वटा पुल र ७४ मिटर अग्लोसम्मका १६ वटा विशेष प्रकृतिको पुल निर्माण गर्नुपर्ने सेनाले जनाएको छ ।

चार लेनमा निर्माणाधीन सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर हुने र खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज र दुई विश्रामस्थल रहने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

पुल र सुरुङबाहेक ५५ दशमलव ५ किलोमिटर लम्बाइ रहने द्रुतमार्गको २५ दशमलव ४४ किमिमा सबग्रेड फर्मेशनसम्मको निर्माणको प्रगति शतप्रतिशत, १० किलोमिटर खण्डमा ८० प्रतिशत, १६ किलोमीटर खण्डमा ५० देखि ८० प्रतिशतसम्मको प्रगति रहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

सम्बन्धित