तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकन फौजी किरा आतंक : एकरातमा १०० किलोमिटर फैलने किराले कृषकको मकै सत्यानास

काठमाडौं- पाँच महिना अघि पहिलो पटक नवलपरासीको गैडाकोटमा देखा परेको अमेरिकन फौजी किरा चितवन, ललितपुर हुँदै रामेछाप तथा सिन्धुली जिल्लासम्म पुगेको छ। अमेरिकन फोजी किराको लार्भाले नै  मकै धानसहितका ८० प्रकारका बाली तथा बनस्पतीमा क्षति पुर्‍याउने भएपछि  कृषि अनुसन्धान परिषद् ‘नार्क’ ले यो देखिनासाथ खबर गर्न आह्वान गरेको छ।

‘नार्क’का किट वैज्ञानिकले किरा परीक्षणका क्रममा ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासी लगायतका जिल्लाका मकैबालीमा देखिएपछि नमुना परीक्षणका लागि भारत पठाएका थिए। भारत पठाइएको मकैको बोट, पात र डाँठमा रहेको फौजी किराको नमुना, परीक्षणका क्रममा पुष्टि भएपछि नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरिसकिएको छ।

यो किराले मकैको पात, डांठ, घोगा र बोट नै सखाप पार्ने गरेको छ। मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्छ  भने पाक्न लागेको मकैबालीमा लागेसमयत यसले सखाप पार्ने  गर्छ। अमेरिकी रैथाने फौजी किरा सन् २०१६ मा पश्चिम अफ्रिकामा देखा परेको थियो।

अफ्रिकाको एक ठाउँमा देखिएको  फौजी किरा त्यसको दुई बर्षमै पूरा अफ्रिकाभर फैलिएको थियो।  वैज्ञानिकहरुले अफ्रिकालगत्तै सन् २०१८ मा यो किरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यबाट प्रवेश गरेको बताएका छन्।

पुतलीको रुप बनेका बेला फैलने यो किरा एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ । ‘नार्क’का किट बैज्ञानिक प्रेमनिधि शर्माका अनुसार फौजी किरा  विश्वकै खतरनाक खेति नासक किरा भएको भन्दै यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताउँछन्।

फौजी किरा, गएको वर्ष भारतका १९ प्रान्तमा फैलिएको थियो। भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा प्रकोपका रुपमा फैलिएको फौजी कीरा थाइल्याण्ड, चीन, भियतनाम र अहिले नेपालमा देखा परेको छ।

अनुसन्धानका क्रममा नेपालमा यो किराले मकैमा क्षति गरेको भेटिएको भएपनि धान तथा अन्य बनस्पतीमा समेत क्षेती पुगेको छ।

नेपालमा पहिलो पटक देखिएको यो किराले मकै बाली पुरै सखाप पार्न थालेको छ। मकै उम्रेदेखि नै आक्रमण सुरु गर्ने यसले बोट नै सखाप पार्ने गरेकाले घोगा लाग्ने सम्भावना निकै कम हुन्छ। यसको बढ्दो प्रकोप र नियन्त्रणका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र छलफल मै सिमित बनेको छ।

‘हामीले दुईवटा विषादी नामै तोकेर सिफारिस गरेका छौं,’ कृषि मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका बालली संरक्षण अधिकृत महेश तिमिल्सिनाले भने, ‘यसलाई समयमा नियन्त्रण गर्ने सके सहज अवस्था आउँछ अन्यथा बाली संकट ल्याउन सक्छ।’

नेपालमा फौजी किरा प्रवेश गरेको र नोक्सानी गरेको औपचारिक घोषणा भएसँगै विभिन्न जिल्लामा मकै, धान तथा अन्य कृषिजन्य बनस्पतीमा यसको प्रकोप फैलिसकेो छ। जसको नियन्त्रण बैज्ञानिकका लागि चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button