तपाईँ सुन्दै हुनुहुन्छः

बगर सम्माएर खेलमैदान निर्माण गरिंदै

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले बताउनुभयो ।

प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्तको पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताउनुभयो । उहाँका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो ।

मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताउनुभयो । व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो ।

खेलाडीले खेलअभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकूद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकूदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताउनुभयो । अधिकांश बस्तीमा दुई वर्षको अवधिमा खेलमैदान बनाएको अध्यक्ष रोकाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button