कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।
कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् ।
सभापति देउवा केन्द्रीय समितिको बैठकलगत्तै नेविसंघको नेतृत्व तोक्ने तयारीमा रहेको उनी निकट एक नेताले बताए ।
प्रतिक्रिया राख्नुहोस्