तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा पालनले फेरिएको जीवन

सुरुङ्गा-झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उहाँको परिचय पनि फेरिएको हो ।

सहकारीबाट ऋण लिएको पैसामध्ये रु चार हजार ५०० का दुई बाख्राका पाठी किनेर बाख्रा पाल्न शुरु गर्नुभएकी सरस्वतीको अहिले खोरभरि बाख्रा छन् । बाख्रासँगै उहाँले गाई पनि पाल्नुभएको छ । सहकारीबाट रु तीन लाख आँट गरेर ऋण लिएको उहाँ सम्झिनुहुन्छ ।

सरस्वतीले बाख्राका लागि सहकारीबाटै उन्नतजातको घासको बीउ पनि प्राप्त गर्नुभएको छ । सरस्वतीका घरमा पालिएका सबै बाख्राको बिमा पनि गरिएको छ । किनकि बिमा गरिएका सबै बाख्राको रेखदेखका लागि सहकारीले नै कर्मचारी राखेर निःशुल्क हेरचार गर्दै आएको छ ।

आफ्ना शेयर सदस्यको जीवनस्तर माथि उठाउन सहकारीले बिनाधितो ऋण र पशुपालक कृषकका लागि प्राविधिकसमेत निःशुल्क उपलब्ध गराएपछि अर्जुनधारा–९ की सरस्वती मात्र होइन, नगरपालिकाभित्र झण्डै २०० बढी महिलाले व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका सहकारीका पशु प्राविधिक सिर्जना आचार्यले बताउनुभयो ।

कोही विदेशबाट फर्किएर पशुपालन गरिरहेका छन् त कोही रोजगारीको अन्य विकल्प नभएर यो पेशामा आबद्ध छन् । पाँच वर्षभित्र बाख्रापालन व्यवसायबाटै रु एक करोड बढी आम्दानी लिने सोचका साथ सरस्वतीले अहिले स्थानीयसहित उन्नतजातका बाख्रापालन गरिरहनुभएको छ । सरस्वतीले अहिले समूहमा आबद्ध अरु महिलालाई पनि समूहमै बाख्रापालनसम्बन्धी तालीम प्रदान गर्दै आउनुभएको छ । वडा नं ९ मा अहिले उहाँकै अग्रसरतामा किसान पाठशालासमेत सञ्चालनमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button