तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा बंगलादेश ४–१ गोल अन्तरले पराजित

अजय बम । साफ यू–१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा कृष्ण यादवले २ तथा सुगन जिमी र प्रदीप लम्सालले १–१ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो ।

५२ औं मिनेटमा सुगनले अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा बंगलादेशका मियाले अग्रता घटाएपछि त्यसको केहि मिनेटमा नै प्रदीपले ३–१ ले अगाडि बढाए । खेलको २ मिनेट समय बाँकी रहँदा कृष्णले गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश र नेपालको समान ६–६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ ।

लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्ष स्थानमा छ । भारतले मंगलबार भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो ।

पहिलो खेलमा भारतसँग ५–० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित दर्ता गरेको थियो ।
नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button